Sunday, February 24, 2008

गीत

सागर सधै उही हुन्न

रचना - ठाकुर मान लामा

सागर सधै उही हुन्न पिएर तिर्खा मेट्नलाई

बाटो सधै उही हुन्न टेकेर नलडी हिड्नलाई

सधै नै उस्तै हुन्न जीवन कहिले उकाली ओराली

सुख दुख आउछ सधै हो घाम छाया जीन्दगानी

अमृत सबले कहाँ पाउँछर बिष पिएर बाचेको छ

शिखरमा पुग्नलाई हुन्छ नि कहिले चाडो कहिले अबेर

फुल सधै उही हुन्न काँडाले नघोचि टिप्नलाई

बाटो सधै उही हुन्न……।

भावीको लेखा कर्मको रेखा बद्लेर बद्लिन्न

नियम बिधाताको तोडेर कहिल्यै जान्न सकिन्न

आशा भरोसा लिई जीवनलाई डोर् याउनु छ

नौलो किरण सारा छरी जीवन बाच्नु छ

जुन सधै उही हुन्न बादल नहटी चम्कनलाई

बाटो सधै उही हुन्न……॥

सागर सधै उही हुन्न ……।

बाटो सधै उही हुन्न……।

श्रोत : ई पत्र डट कम

Saturday, February 23, 2008

कविता

दाग
रचना- ठाकुर मान लामा

आमा !
हेर तिम्रै सन्तानले
तिम्रो अस्तित्वमाथि दाग देखाए
म माथि बिभिन्न अलङकार थपेर
मलाई अछुत भने कसैले
कसैले कुजात भने
मैले बनाएका बस्तु छुनेले
मलाई चाहि अपबित्र भने
तिमी आफै भन आमा
कसरी म अछुत हुन पुगे
कसरी म कुजात हुन पुगे
कसरी म अपबित्र हुन पुगे
जबकी तिमीले नै मलाई
यस धरतीमा जन्म दिएकी थियौ
यसको काखमा हुर्काएकी थियौ
तर खै कसरी किन
म माथि यसरी अलङ्कार थपी
तिम्रो अस्तित्वमािथ
अछुत कुजात र अपबित्र जस्ता
दागका भिल्लाहरु ओड्याउन
खोज्दैछन्
भन्नेहरु भन्छन् जहिले पनि
यहाँ केवल छन् दुइटा जाती
एउटा नर अर्को नारी
तब म कसरी कुजातमा दरीन पुगे
सबैको जस्तो मेरो पनि
शरीरमा हाड छाला मुटु हुनुका साथै
नशामा राता रगत नै बगिरहेको छ
तब म कसरी छुनै नहुने अछुत हुन पुगे
स्वच्छ मनले बनाएको यो मन्दिर
जसरी पबित्रताको प्रतिमुर्ति बनेको छ
अहिले त्यहाँ मेरो उपस्थिित
किन अपवित्रताको चिन्ह बन्न पुगे
हे आमा !
तिमी त पवित्रताको देवी हौ
तिमी त ममताको खानी हौ
तर
मेरो नाउँमा
यहाँ जानी जानी
तिम्रो अस्तित्वमाथि दाग पोत्दैछन्
तिम्रो अस्तित्वमाथि दाग पोत्दैछन्

श्रोत : ईपत्र डट कम

Thursday, February 7, 2008

कविता

कुनाको मान्छे
रचना - ठाकुर मान लामा

गाउँमा बस्दा
म कुनाको मान्छे भए
अथवा
सहरमा रहँदा
म कुनाको मान्छे भए
आजसम्म अहिलेसम्म
आफैंलाई थाहा छैन

गाउँमा बस्दा
सबैले सहर पनि नघुमेको
गाउँमै कोचिरहने
कस्तो कुनाको मान्छे भने
सहरमा रहँदा
केही पनि नजान्ने
केही पनि नबुझने
कस्तो कुनाको मान्छे भने

गाउँको निश्चल माया
सहरमा भित्र्याउने प्रयास गर्दा
छीः गर्दै घीनमान्दै
कस्तो कुनाको मान्छे भने
सहरको त्यो विकासलाई
गाउँमा डोर्‍याउन खोज्दा
धत् खुब जान्ने भइछस् भन्दै
कस्तो कुनाको मान्छे भने

गाउँमा एकको जुठो खाँदा
सबले गाली गर्दै
नानाभाँती भन्दै
कस्तो कुनाको मान्छे भने
सहरमा कोही नजिक आउन खोज्दा
ठूलठूला आँखा तर्दै
परपर हट्दै
कस्तो कुनाको मान्छे भने

गाउँमा बसुँ भने कुनाको मान्छे
सहरमा रहुँ त पनि कुनाको मान्छे
आखिर म किन
कसका लागि कुनाको मान्छे भए
कसका लागि कुनाको मान्छे

श्रोत : घटना र बिचार / नेपाल एचके