Sunday, November 23, 2008


कविता

कविता फुल्ने कहिले ?
रचना - ठाकुर मान लामा

मेरो कविता फुल्ने ठाउँ अब कतै देखिन
हावा सरी छरिएको हेर्न पाइन
किन हो किन
त्यत्रो ठुलो बगैचामा
मेरो मात्र कविता फुल्न सकेन

मलजोल गरेकै हो
सुगन्ध भर्ने काम पनि गरेकै हो
तर यो बढ्नै मानेन
किन हो किन
त्यत्रो ठुलो बगैचामा
मेरो मात्र कविता फुल्न सकेन

हाँसो मेरो यसैमा पोखिदिएको थिए
सुख जति यसैमा टाँसिदिएको थिए
रपनि म देखि अलग्गै हुनै चाहेन
किन हो किन
त्यत्रो ठुलो बगैचामा
मेरो मात्र कविता फुल्न सकेन

अरुका कविता फूल भएर
सबको प्यारो हुन थालिसक्यो
तर मेरो कविता अझै कोपिला बनी
अरुसँग कुरा गर्न मान्दै मानेन
किन हो किन
त्यत्रो ठुलो बगैचामा
मेरो मात्र कविता फुल्न सकेन

सानै भएर होला
कसैले यसलाई हेर्न मानेन
चियाउन पनि चाहेन
कसैले यसको दुख बुझन खोजेन
किन हो किन
त्यत्रो ठुलो बगैंचामा
मेरो मात्र कविता फुल्न सकेन

श्रोत : तन्नेरी डट कम

Saturday, November 8, 2008

लघुकथा

भबिष्यवाणी
रचना : ठाकुर मान लामा

रामप्रसाद जन्मदा ज्योतिषीले भबिष्यमा कि त उ धनी हुन्छ कि त उ जोगी हुन्छ भनेर भबिष्यवाणी गरिदिएका रहेका छन् । उ गरीब परिवारमा जन्मेको थियो त्यसैले उसको परिवारले पनि उ भबिष्यमा जोगी नै हुन्छ भनेर अड्कल काटे ।
समय बित्दै गयो । रामप्रसाद पनि हुकर्यो । उमेरको परिपक्वतासँगै उ पनि केही गर्न सक्ने खालको भएको थियो । धनी बिधालयमा पढ्न नपाएपनि साधारण बिधालयमा उसले पढ्न पाएको थियो । त्यसैले उ साक्षर नै थियो । गम्भीर स्वभाव भएको उसको त्यो बानीले साथीभाइहरुसँग त्यति घुलमिल हुन नसके पनि कुनै पनि घटनादेखि उ धेरै संवेदनशील हुन्थ्यो । त्यसैले उसको झुकाव साहित्यतिर गयो ।
रामप्रसादले पनि साना साना फुटकर रचना लेख्यो । र त्यसलाई बिभिन्न पत्रिकाहरुमा छापियोस् भन्ने हेतुले रचनाहरु पठाउन शुरु गरयो । उसका ती रचनाहरु पनि सायद राम्रै भएकोले होला पत्रिकाहरुमा छापिन थाल्यो ।
रामप्रसादले बाहिरी नोकरी पनि शुरु गरयो । उसको गरिबीलाई केही हदसम्म त्यो नोकरीको कमाईले धान्न थालेको थियो । यतातिर जागिर अर्कोतिर साहित्य । त्यतिाजेल सम्म त राम्रै भएको थियो । तर भाग्यको लेखा मेटेर मेटिदैनथ्यो । भाग्यमा जे लेखिन्छ त्यो त हुनैपर्थ्यो र भोग्नैपर्थ्यो । कमाई ठीकठाक चलिरहेको बेला महँगी एक्कासी आकासियो । उसको त्यो कमाईले मंहगीलाई केही लछारपछार पार्न सकेन । अन्तमा केही सीप नलागेपछि उ जोगी बन्ने अवस्थामा पुग्यो । भोलीपल्ट नै उ जोगीको भेष भिरी माग्न हिड्यो । तर बिधीको बिधान…। उ ठगिएछ । जुन दिन उ जोगी भएर हिड्यो त्यही दिन उसको एउटा रचना उत्कृष्टमा दरिएछ र सम्मान र महङगो पुरस्कारले सम्मानित गरिने भएछ …

श्रोत : नेपाली साहित्यिक मंच

Wednesday, November 5, 2008

कविता

साहित्यकार बाँचिरह्यो उसकै साहित्यमा
रचना - ठाकुर मान लामा

लेखक भेटिइरह्यो उसकै लेखमा
कथाकार हाँसिइरह्यो उसकै कथामा
कवि रोइरह्यो उसकै कवितामा
समग्रमा त्यसैले केवल
साहित्यकार बाँचिरह्यो उसकै साहित्यमा

कसैले उसलाई सोधेन
कसैले उसलाई एक लब्ज भनेन
कस्तौ छौ तिमी भनेर
समग्रमा त्यसैले केवल
साहित्यकार बाँचिरह्यो उसकै साहित्यमा

पीड़ा हुदाँ उ एक्लै पिडित हुनुपरयो
हर्ष छाउँदा उ एक्लै हर्षित हुनुपरयो
दुःख सुख पर्दा आफैले ब्योहर्नुपर्यो
समग्रमा त्यसैले केवल
साहित्यकार बाँचिरह्यो उसकै साहित्यमा

बुझ्नेले उसको अक्षर पढिदियो
नबुझ्नेले उसको अक्षर च्यातिदियो
एक अक्षरको नाउँमा अनगिन्ति पुच्छर झुन्डाईदियो
समग्रमा त्यसैले केवल
साहित्यकार बाँचिरह्यो उसकै साहित्यमा

जिबित छउञ्जेल कसैले सरोकार राखेन
मृत्युपछि चाहि के के अलंकार थप्न भने बिर्सेन
देखावटी भएपनि फुस्रो सम्मान दिन छाडेन
समग्रमा त्यसैले केवल
साहित्यकार बाँचिरह्यो उसकै साहित्यमा
समग्रमा त्यसैले केवल
साहित्यकार बाँचिरह्यो उसकै साहित्यमा

श्रोत : नेपाली साहित्यिक मंच