Monday, February 23, 2009


कविता

रणमैदानको झलक
रचना - ठाकुर मान लामा

उफ !
बम र बारुदको धुवामा
नजरहरु दुस्मनलाई
हेर्न थाक्दै गइरहेछन्
कारुणिक दारुणिक चिच्यावटहरुमा
आफ्नै कमाण्डरको आदेश
सुन्न छाड्दै गइरहेछन्

चोइटा चोइटा टुक्रिएका लाशहरु
छातीमा गहिरो घात पुर्‍याउदैछन्
किन गर्दैछौ अरुको संहार
ह्दयमा यस्ता अनेकन
बात हुर्क्याउदैछन्

नजिकै एक घाइते दुस्मन
पानी पानी भन्दै माग्दै गरेको
उफ ! मनमा
राष्ट्रियताको भावना पुग्दा
मित्रबाट मानवतालाई कुल्चिन पुगेछन

सम्झाउन सक्दिन मित्रहरुलाई
कारण दुस्मनी गोली धमाधम बर्सिरहेछन
मानवतालाई बिर्सी देश स्वाभिमान
आँखासामु नाचिरहेका छन्
त्यसैले होला
हर कोही खुखार हिस्रक बन्दै गइरहेछन्

रणमैदान रगतको समुद्र
यत्र तत्र बन्दै गईरहेका छन् उता भित्र भित्रै ह्दयमा तप्किरहेको
ज्वालाले शान्ति शान्ति
चाहियो भन्दै गइरहेका छन्
कतैबाट शान्तिको सन्देश
आउँछ कि कान तेर्सिदैछन
तर
बम बारुद र धुवामा
ती कानहरु सुनिन छाडिदैछन
ती कानहरु थुनिन पुग्दैछन

श्रोत : नेपाल एच के / समकालीन साहित्य

Sunday, February 8, 2009

गीत

तराई खेतमा हिमाली पानी
रचना - ठाकुर मान लामा

तराई खेतमा हिमाली पानी मिसाई हेरन

तराई गर्मी सहनलाई पहाडी चिसो छामी हेरन

सुनको बाला लहलह हो ........

सुनको बाला लहलह गाउँबेसीमा झुल्दै

हिउँको थुम्को टहटह हो .........

हिउँको थुम्को टहटह सगरलाई चुम्दै

यही धरतीमा नेपाली हात चलाई हेरन

श्रमको पसिना यही माटोमा खोलाझै बगाई हेरन

कोइली चरी चिरीबिरी हो .......

कोइली चरी चिरीबिरी रुखको हाँगैमा

शान्तिको गीत तिरीरी हो ........

शान्तिको गीत तिरीरी मुरली धुनैमा

नेपाली दिल नेपाली मुटु सबको माझ खोली हेरन

नेपाली भेषभुषा अनि संस्कृतिलाई माया गरन

जोडी खुकुरी टलल हो .......

जोडी खुकुरी टलल नेपाली शानमा

शहिदको रगत सलल हो ........

शहिदको रगत सलल नेपाली ज्यानमा

पबित्र सम्बन्ध खोज्न सत्यलाई पछ्याई हेरन

नेपाल सजाउनलाई सब एक भई लागि परन

तराई खेतमा हिमाली पानी मिसाई हेरन

तराई गर्मी सहनलाई पहाडी चिसो छामी हेरन

श्रोत : समकालीन साहित्य