Thursday, August 5, 2010

कविता

ग्रेट खबर (?) मा मौन राजधानी

रचना – ठाकुर मान लामा

ग्रेटर नेपालको सपनामा

यहाँ अनेकन ग्रेटर भइसकेछन्

सिमामा नेपाली कुटिदा पिटिदा

मस्त निद्रामा ग्रेट सपना

देख्दै सुतिरहेका छन्

राजधानीबासीहरु

ग्रेट भएछन नेताहरु

हाकिमदेखि अभिनेताहरु

ठुलो हलमा केही कागज लिई

हातमा माइक समाई

ग्रेट ग्रेट भाषण छाड्दै

कुर्सीमा हल्लिदै मच्चिदै

आउँछन जान्छन् ग्रेट

भनाउँदा ब्यक्तिहरु

वास्ता छैन तिनलाई

ती नेपालीहरु कति

सास्तीमा बाँचिरहेछन्

केवल तिनलाई धुन छ

कसरी आफु अझै ग्रेट हुने

कुल्चिदै गइरहेछन् सिमाहरु

भत्काइदैछन् ती स्तम्भहरु

ग्रेटर नेपाल साकार बनाउने

आफु तर्फ मोडिएको

दिशामा अबरोध बनाइदैछन

तन्काइदैछन

बन्दुक तोप मेशिनहरु

पढदैछ अखबार राजधानी

सुन्दैछ रेडियो राजधानी

हेर्दैछ टि।भी राजधानी

ग्रेट (?) ग्रेट (?) खबरमा

त्यै पनि

मौन साध्दै बसिरहेको

छ राजधानी

श्रोत : घटना र बिचार

Tuesday, June 8, 2010

कविता

म अनि दुनियाँ
रचना- ठाकुर मान लामा

दुनियासँग म कराउँदै हिड्दैछु
मसँग दुनियाँ कराउँदै हिड्दैछ
कारण म उसलाई बताउन चाहिरहेछु
उ कान थुनेर मलाई नै झपार्दैछ

हेर यो देश रोईरहेको छ
म जस्तै हजारौं उ सँगै रोईरहेछ
तर दुनियाँ कुरै नसुनी उल्टै गाली गर्छ
नहुने चासो अरुलाई तँलाई मात्र किन भन्छ

हजारौं दुखिरहेछन् पिल्सिएर दुःखमा
त्यसलाई हेरी हाँसिरहेछन् सुखमा
दुनियाँ बुझ्दछ यो त आ-आफ्नो कर्म हो
बुझ्दैन तर साथ दिनु पनि ठुलो धर्म हो

आकाश पाताल एक हुँदैन दुनियाँ भन्दछ
यर्थाथ त्यो त सबलाई थाहा पनि छ
दायित्व सिङ्गार्ने देश हाम्रो हामी सबैको हो
तब बिचार किन फरक हरेक समयमा उसको

भोक लागेर चिच्याईरहेका म देख्न सक्दिन
उपचार गर्न नपाई थलिरहेका म हेर्न सक्दिन
उफ छ कति जर्जर यो मानव जीवन
गरौं आउँ सहयोग भन्छु दुनियाँ मान्दैन

गरिबीको ढुङ्गाले थिचिएका ती ढुङ्गा बोक्न खोज्छु
एक्लो ज्यान सक्दिन भित्र भित्रै आँशु दबाई रुन्छु
दुनियाँ तै हेरी बस्छ यस्तो अवस्था हुदा पनि
सर्दैनन किन अघि दाजुभाई दिदीबहिनी सुखी होस भनी

उफ फेरी कराउँछु दुनियासँग
जाऔं मिलेर ढिला नगरी अब त
तैपनि सुन्दैन दुनियाँ कानमा रुई कोची बस्छ ॥
तैपनि सुन्दैन दुनियाँ कानमा रुई कोची बस्छ ॥

श्रोत : तरुण साप्ताहिक

Friday, May 21, 2010

कविता

मान्छेको परिचय
रचना- ठाकुर मान लामा

मान्छे पहाड बन्छन् होइनन
पहाड बन्ने कोशिश गर्छन्
नसक्नेले पनि सक्छु भनी
कोर्रा कुरा त्यसै पनि हाक्छन्

हुनेसँग सम्पति त हुने नै भए
नहुने पनि छ भन्छन्
कोही किन कोसँग झुक्ने
कोही किन त्यसै झुक्छन्

निर्धोको अगाडि जो पनि
आफुलाई भगवान नै ठान्छन्
भगवान ठुलो उ भन्दा छ माथि
भनी कहिले पो मान्छन्

जातमा तल पर्‍यो
उसलाई नानाथरी गालीले घोच्छन्
मानव सब समान जगतमा
भनी कहिले पो सोच्छन्

बुद्धिमानी भनाउँदाहरु सधै
आफैमात्र जान्ने हु जस्तो बन्छन्
आर्दशवाद सिद्धान्तका कुरा तर
गवाँर मान्छे पनि गर्छन्

सानै नै किन नहोस् जीतमा
जहिले पनि खोक्रो आडम्बर भर्छन
अरुको सेवा किन गर्नु
आइपरे बहाना बिभिन्न गर्दै पर सर्छन

श्रोत : नेपाली साहित्य घर

Friday, February 19, 2010

लघुकथा

ऐचोपैचो
रचना – ठाकुर मान लामा

शकुन्तलादेवी एक दिन बजारमा किनमेल गर्न गएछिन । बजारको एक पसलमा सामान किन्ने बेलामा सामानको भाउमा पसले साहु र उनीबिच विवाद यसरी भएछ -
"दिदी धेरै किचकिच नगर्नुस । लैजाने भए लैजानुस … "
"अलि भाउ घटाइदेउन भाई । धेरै लैजान्छु नि । "
"ल १० रुपैया घटाईदिन्छु । त्यो भन्दा बढि घटाउदिन अब । "
"हया भाई के १० रुपैया मात्र घटाउने कुरा गर्‍या । ल १०० रुपैया भयो । त्यति भए लैजान्छु ।"
"१०० रुपैयाले त हुदैन । हामीलाई पनि यसो नाफा चाहिन्छ नी । घाटामा बेचेर कसरी बाँच्ने हामी ? भैगो तपाई नलैजानुस । तपाई धेरै घटाउनुहुदोरहेछ । बरु अर्कैले लैजान्छ … "
हुन पनि शकुन्तलादेवीले ३०० को माललाई १०० रुपैयामा किन्न खोजेपछि कुरा कहाँ मिल्थ्यो र । कुरा मिलेन । उनी रित्तै भुनभुनाउँदै पसलेलाई गाली गर्दै घर फर्किन ।
दुइ बर्षपछि……
शकुन्तलादेवीले आफ्नै पसल खोलिन् । एकदिन उही बजारको पसले साहु उनकै पसलमा छिरेछ । शकुन्तलादेवीले उसलाई चिनिन । अनि फेरी सामान किन्ने बेलामा विवाद यसरी भएछ -
"साहुनी अलि भाउ घटाइदिनुसन । "
"हुदैन भाई । यो भन्दा एक रुपैया पनि घट्दैन । यसको जति दाम छ त्यो भन्दा बढि त हामीले नै तिरेर ल्याउनुपर्छ । कसरी दिन मिल्छ त्यो भाउमा ?"
"हैन साहुनी यसो मिलाएर दिनुसन । अलि अलि त घटाउन मिलिहाल्छ नी । यही पसलमा मात्र पाइन्छ भनेर झन आको । पछि फेरी बेलाबेलामा पनि किनिरहनुपर्छ । तपाईकै यसो मिलाउन पाए सजिलो हुन्थ्यो ।"
"हुदैन भाई । लैजाने भए लैजानुस । नत्र एक रुपैया पनि घटाएर दिन मिल्दैन । "
धेरै बेरसम्म पनि भाउबारे कुरा नमिलेपछि भुनभुनाउदै त्यो पसले साहु त्यहाँ बाट निस्केर जान बाध्य भयो ।

श्रोत : नेपाली साहित्य घर