Friday, February 19, 2010

लघुकथा

ऐचोपैचो
रचना – ठाकुर मान लामा

शकुन्तलादेवी एक दिन बजारमा किनमेल गर्न गएछिन । बजारको एक पसलमा सामान किन्ने बेलामा सामानको भाउमा पसले साहु र उनीबिच विवाद यसरी भएछ -
"दिदी धेरै किचकिच नगर्नुस । लैजाने भए लैजानुस … "
"अलि भाउ घटाइदेउन भाई । धेरै लैजान्छु नि । "
"ल १० रुपैया घटाईदिन्छु । त्यो भन्दा बढि घटाउदिन अब । "
"हया भाई के १० रुपैया मात्र घटाउने कुरा गर्‍या । ल १०० रुपैया भयो । त्यति भए लैजान्छु ।"
"१०० रुपैयाले त हुदैन । हामीलाई पनि यसो नाफा चाहिन्छ नी । घाटामा बेचेर कसरी बाँच्ने हामी ? भैगो तपाई नलैजानुस । तपाई धेरै घटाउनुहुदोरहेछ । बरु अर्कैले लैजान्छ … "
हुन पनि शकुन्तलादेवीले ३०० को माललाई १०० रुपैयामा किन्न खोजेपछि कुरा कहाँ मिल्थ्यो र । कुरा मिलेन । उनी रित्तै भुनभुनाउँदै पसलेलाई गाली गर्दै घर फर्किन ।
दुइ बर्षपछि……
शकुन्तलादेवीले आफ्नै पसल खोलिन् । एकदिन उही बजारको पसले साहु उनकै पसलमा छिरेछ । शकुन्तलादेवीले उसलाई चिनिन । अनि फेरी सामान किन्ने बेलामा विवाद यसरी भएछ -
"साहुनी अलि भाउ घटाइदिनुसन । "
"हुदैन भाई । यो भन्दा एक रुपैया पनि घट्दैन । यसको जति दाम छ त्यो भन्दा बढि त हामीले नै तिरेर ल्याउनुपर्छ । कसरी दिन मिल्छ त्यो भाउमा ?"
"हैन साहुनी यसो मिलाएर दिनुसन । अलि अलि त घटाउन मिलिहाल्छ नी । यही पसलमा मात्र पाइन्छ भनेर झन आको । पछि फेरी बेलाबेलामा पनि किनिरहनुपर्छ । तपाईकै यसो मिलाउन पाए सजिलो हुन्थ्यो ।"
"हुदैन भाई । लैजाने भए लैजानुस । नत्र एक रुपैया पनि घटाएर दिन मिल्दैन । "
धेरै बेरसम्म पनि भाउबारे कुरा नमिलेपछि भुनभुनाउदै त्यो पसले साहु त्यहाँ बाट निस्केर जान बाध्य भयो ।

श्रोत : नेपाली साहित्य घर