Sunday, July 15, 2007

कविता

बिशाल मन
रचना - ठाकुर मान लामा

बिशाल मन कसैको छ ?
तिमी भन्छौ - तिम्रो छ ।
उ भन्छ - उसको छ ।
शायद म पनि भन्छु - मेरो छ ।
तर गर्व साथ छाती फुलाएर
कसैले पनि भन्न सक्दैन
कि मेरो मन बिशाल छ

पैसा हुनेले
केही मगंतेहरुलाई जम्मा पारेर
केही पैसा उनीहरुको
पटुल्कोमा फ्याकिदिदैमा

वा

आफ्नो प्रसिद्धि दर्शाउन
आफ्नो नाममा च्यारिटी
खोलिदिदैमा

वा

समाज सेवकको ढोंगी रची
केही बिधाथिॅलाई
छात्रबृति
उनीहरुको हाथमा
थमाईदिदैमा

वा

आफ्नो शान देखाउन
ठुल- ठुला भोज भतेर
भब्य आलिशान महलमा
आयोजना गर्दैमा

वा

आफ्नो पहुचको भान दिलाउन
केही आफ्ना नातागोतालाई
पैसा हुने खाने ठाउँमा
पद दिलाईदिदैमा

बिशाल मन छ मेरो
भन्नु कदापि
सुहाउदैन

बिशाल मन
त्यति बेला हुन्छ
जब
मनमा
न त रीस राग
न त वैमनस्यता
न त ईर्ष्या
न त भेदभाव
न त पाप
अरुप्रति
चिताएको हुन्छ

बिशाल मन
त्यतिबेला हुन्छ
जब
मनले
आफ्नो धर्म
आफ्नो कर्म
भन्दा माथि उठेर
अरुकै स्वार्थलाई
ठुलो ठान्दछ

बिशाल मन
त्यति बेला हुन्छ
जब
मनमा
आफ्नो स्वाभिमान
आफ्नो मान ईमान
आफ्नो ज्यान
देश र जनताको
लागि समर्पित
हुन जागृत बढेको हुन्छ

बिशाल मन
त्यतिबेला हुन्छ
जब
मनमा
आफुले गरेको काम
आफुले गरेको कर्तब्य
लाई तुच्छ ठानी
सदैव
मिली सबैसित
अरुकै हित
हुन अग्रसर प्रेरित हुन्छ

बिशाल मन
त्यतिबेला हुन्छ
जब
मनमा
आफ्नो मन बिशाल
छ भन्ने
सोच , भावना
परित्याग भएको हुन्छ

श्रोत : शब्दांकुर