Thursday, February 7, 2008

कविता

कुनाको मान्छे
रचना - ठाकुर मान लामा

गाउँमा बस्दा
म कुनाको मान्छे भए
अथवा
सहरमा रहँदा
म कुनाको मान्छे भए
आजसम्म अहिलेसम्म
आफैंलाई थाहा छैन

गाउँमा बस्दा
सबैले सहर पनि नघुमेको
गाउँमै कोचिरहने
कस्तो कुनाको मान्छे भने
सहरमा रहँदा
केही पनि नजान्ने
केही पनि नबुझने
कस्तो कुनाको मान्छे भने

गाउँको निश्चल माया
सहरमा भित्र्याउने प्रयास गर्दा
छीः गर्दै घीनमान्दै
कस्तो कुनाको मान्छे भने
सहरको त्यो विकासलाई
गाउँमा डोर्‍याउन खोज्दा
धत् खुब जान्ने भइछस् भन्दै
कस्तो कुनाको मान्छे भने

गाउँमा एकको जुठो खाँदा
सबले गाली गर्दै
नानाभाँती भन्दै
कस्तो कुनाको मान्छे भने
सहरमा कोही नजिक आउन खोज्दा
ठूलठूला आँखा तर्दै
परपर हट्दै
कस्तो कुनाको मान्छे भने

गाउँमा बसुँ भने कुनाको मान्छे
सहरमा रहुँ त पनि कुनाको मान्छे
आखिर म किन
कसका लागि कुनाको मान्छे भए
कसका लागि कुनाको मान्छे

श्रोत : घटना र बिचार / नेपाल एचके