Saturday, November 8, 2008

लघुकथा

भबिष्यवाणी
रचना : ठाकुर मान लामा

रामप्रसाद जन्मदा ज्योतिषीले भबिष्यमा कि त उ धनी हुन्छ कि त उ जोगी हुन्छ भनेर भबिष्यवाणी गरिदिएका रहेका छन् । उ गरीब परिवारमा जन्मेको थियो त्यसैले उसको परिवारले पनि उ भबिष्यमा जोगी नै हुन्छ भनेर अड्कल काटे ।
समय बित्दै गयो । रामप्रसाद पनि हुकर्यो । उमेरको परिपक्वतासँगै उ पनि केही गर्न सक्ने खालको भएको थियो । धनी बिधालयमा पढ्न नपाएपनि साधारण बिधालयमा उसले पढ्न पाएको थियो । त्यसैले उ साक्षर नै थियो । गम्भीर स्वभाव भएको उसको त्यो बानीले साथीभाइहरुसँग त्यति घुलमिल हुन नसके पनि कुनै पनि घटनादेखि उ धेरै संवेदनशील हुन्थ्यो । त्यसैले उसको झुकाव साहित्यतिर गयो ।
रामप्रसादले पनि साना साना फुटकर रचना लेख्यो । र त्यसलाई बिभिन्न पत्रिकाहरुमा छापियोस् भन्ने हेतुले रचनाहरु पठाउन शुरु गरयो । उसका ती रचनाहरु पनि सायद राम्रै भएकोले होला पत्रिकाहरुमा छापिन थाल्यो ।
रामप्रसादले बाहिरी नोकरी पनि शुरु गरयो । उसको गरिबीलाई केही हदसम्म त्यो नोकरीको कमाईले धान्न थालेको थियो । यतातिर जागिर अर्कोतिर साहित्य । त्यतिाजेल सम्म त राम्रै भएको थियो । तर भाग्यको लेखा मेटेर मेटिदैनथ्यो । भाग्यमा जे लेखिन्छ त्यो त हुनैपर्थ्यो र भोग्नैपर्थ्यो । कमाई ठीकठाक चलिरहेको बेला महँगी एक्कासी आकासियो । उसको त्यो कमाईले मंहगीलाई केही लछारपछार पार्न सकेन । अन्तमा केही सीप नलागेपछि उ जोगी बन्ने अवस्थामा पुग्यो । भोलीपल्ट नै उ जोगीको भेष भिरी माग्न हिड्यो । तर बिधीको बिधान…। उ ठगिएछ । जुन दिन उ जोगी भएर हिड्यो त्यही दिन उसको एउटा रचना उत्कृष्टमा दरिएछ र सम्मान र महङगो पुरस्कारले सम्मानित गरिने भएछ …

श्रोत : नेपाली साहित्यिक मंच