Saturday, June 13, 2009




कविता

सैनिक - २
रचना - ठाकुर मान लामा

कसैले देखेन, कसैले बुझेन
कसैले किन हो चिन्न चाहेन
आँशु भित्र-भित्रै दबाई लड्दै छु
रणक्षेत्रको यो कुरुप मैदानमा ।

टाढिँदै आफन्तदेखि, आफ्नो जमीनदेखि
पर यो बिरानो तथा निमेषमा
अज्ञात प्रहारहरुको सामना गर्दैछु
अज्ञात भविष्यको छाँयामा ।

तर लडदैछु म वीरतासाथ नै
दायित्व छ जो मसँग
कायरता भनी चिनाउन चाहन्नँ
न झुक्छ शिर कसैसँग ।

मानवता म कुल्चिँदैछु
दानवताको सीमा मिची
के धर्म यही हो - -म सोध्छु
सोच्लान् के आफन्तले फेरि -

तथापि बहुलाउँछु सामुन्ने जब
देखी अपरिचित लासहरु
जससँग मेरो रिस छैन
न भएको छ कुनै बातहरु ।
कुहिरो मण्डल ती बारुदका धूँवा आकाश भर्दै
शान्तिको कुनै नामोनिशान आउन दिँदैन छेउ
तब म चिच्याउछु आँखा-कान बन्द गर्दै
हे भगवान ! अब त शान्त पारिदेऊ ।

श्रोत : नेपाल एच के