Saturday, July 25, 2009

कविता

उँच-नीचको पतङ्गले हिर्कायो
रचना - ठाकुर मान लामा

'नहिँड्नू यो बाटो बुझ्नु तेरो लागि बनेको होइन
नहेर्नू नजर झुकाउनु सधै ठूलो तँ कदापि
हैन'यस्तै तीखा बचन म ह्दयभरि बोकी हिँड्दैछु
रूप मानिसको तर कर्म एक भेडाको जस्तै सँगाल्दैछु

रगत रातै भन्छन् सबले सुन्छु देख्छु म पनि
किन बैरी भएँ म उसका लागि त्यसैले सोच्छु हर घडी
छुन हुन्न रे सामान केही म त अछुत रे
छोइ हाले केही गरी अन्जानैमा पनि उसको जात जान्छ रे

गार्हो सार्हो सानो तिनो काम गर्न चाहीँ बोलाउँछन्
सकिएपछि कुकुरलाई लखेटे झैँ लखेटछन्
कुनै भाउ दिन्नन् कुनै मान दिन्नन् किन यस्तो
मानिस त म पनि हुँ तर मलाई हेर्ने नजर किन सस्तो

थाहा छ देवतालाई कसले पो देखेको छ र
तब उसले मैले बाल्ने दीयोमा फरक के नै छ र
जीवन चक्रमा बाँधिएर जो सुकै हिँड्नुपर्दछ
फेरि उसले नै किन अमृत पिएको जस्तो गर्दछ

सृष्टिको सिर्जना गजब छ मानिसलाई नै ठूला साना बनाउने
ठूला त ठूला भए सानालाई भुसुना पनि नगन्ने
यही माटोले जन्मायो मलाई यही माटोले हुर्कायो
आमा यही माटो ठूली तर उँच नीचको पत्तङ्गले मलाई हिर्कायो

श्रोत : नेपाल यूथ सोसाइटी ( तन्नेरी डट कॉम )