Sunday, September 13, 2009

कविता

जवाफ पाइनँ
रचना - ठाकुर मान लामा

मैले सपना कोरेँ
रड्गीचङ्गी इन्द्रेणी रङ्गले भरेँ
तर पनि
सपना, विपनामा चरितार्थ हुन सकेन
किन ?
जवाफ मसँग छैन

मैले उनलाई माया पनि गरेँ
स्वच्छ र निर्मल मनले गरेँ
तर पनि
त्यो माया किन सफल हुन सकेन
किन ?
जवाफ मसँग छैन

मैले हरेक चिजसँग मित्रता साटेँ
हृदय भरिको आत्मियता बाडेँ
तर पनि
हरेक चिजले मलाई आफन्त भावले हेरेन
किन ?
जवाफ मसँग छैन

मैले त्यसैलाई नै किताबमा लेखेँ
मोटो र चिल्लो गाताले सजाएँ
तर पनि
किताब किन सार्वजनिक हुन मानेन
किन ?
जवाफ मसँग छैन

मैले सबैलाई यो प्रश्न सोधेँ
प्रश्नको जवाफ सबसँग खोजेँ
तर पनि
निरुत्तर दृष्टि बाहेक केही पाइँन
किन ?
जवाफ मसँग छैन ।

श्रोत : तन्नेरी डट कम