Saturday, September 26, 2009


कविता

सैनिक :४
रचना – ठाकुर मान लामा

आउँदैछु बाबा अँध्यारो नृशंस ती क्षेत्रबाट
बिजयको माटो निधारमा लगाई आज
फर्कँदैछु आमा तपाईंको आशीर्वादले
झुकेको थिएन न झुक्छ शिर अब कहिल्यै

लडाइको कालो मैदानलाई सहर्ष पार गर्‍यौं
आफ्नी मातृभूमि जननीलाई सम्झी
अक्षर सुनौलो एउटा इतिहासमा कोर्‍यौं
सक्छौ हिँड्न संसारभरि गम्की

भनिदिनू दिदी ती पाखा पखेरुलाई
गौरवको छाता ओढी आउँदैछु
सुनाइदिनू बहिनी ती लेक बेसीलाई
बोकी हाँसो खुशी उसको ल्याउँदैछु

संगाली दाजु माया माटोको छातीभरि
लुटपुटिन ऊसँग यो मनलाई कुराएको छु
पवित्र ती भाइ, झरना र छाँगासरी
नाच्न यो चञ्चलतालाई पर्खाएको छु

हुनेछु केही दिनमै म तिमीसँग
साट्न खुशी तिम्रै आँगनमा
झर्नेछु त्यही प्यारो देउरालीमा
काहानी वीरताको सबलाई सुनाउन

श्रोत : नेपाल डट एचके