Thursday, November 29, 2007

गीत

चाहे आँधी आओस
रचना : ठाकुर मान लामा

चाहे आँधी आओस् चाहे तुफान आओस्
मेरो देशको निम्ति म प्राण दिन्छु

रोकेर रोकिन्नन् पाइलाहरू सामुन्ने काँडैकाँडा नहोस् किन
खुसी हुनेछु बरु बैरीलाई झुकाएको दिन

चाहे वर्षा लागोस् चाहे गर्मी छाओस्
मेरो देशको निम्ति म प्राण दिन्छु

सहन्छु सबै चोटहरू घाउ लागे पनि
हुन दिने छैन आमा तिमीलाई कहिल्यै दुःख पनि

चाहे आगोले रोकोस् चाहे चट्टानले छेकोस
मेरो देशको निम्ति म प्राण दिन्छु

व्यर्थै नजाओस् यो जुनी पुज्न कहिल्यै छाड्ने छैन
हँसिलो मुहार पार्न तिमीलाई म पछि हट्ने छैन

चाहे रात ढलोस् चाहे दिन बितोस
मेरो देशको निम्ति म प्राण दिन्छु

चाहे आँधी आओस् ...............

श्रोत: घटना र बिचार / नेपाल ऐच के

Thursday, November 22, 2007

कविता

धनको मृत्युलोक
रचना - ठाकुर मान लामा

हे मानिस अझै कति धनकै पछि लाग्छस्
त्यही धनले तँलाई तँबाट टाढा बनाउनेछ
जुन धनलाई राखी तँ आफूलाई धनी ठान्छस्
त्यही धनले तँलाई कङ्गाल बनाउनेछ
जुन धनलाई तँ आफन्त ठान्छस्
त्यही धनले तँलाई दुनियाँबाट पर्राई बनाउनेछ
जुन धनलाई तँ मोजमस्तीमा प्रयोग गर्छस्
त्यही धनले तँलाई सडकको भिखारी बनाउनेछ
जुन धनलाई तँ इज्जत ठान्छस्
त्यही धनले तँलाई बेस्सरी थुक्नेछ
जुन धनलाई तँ स्वर्ग ठान्छस्
त्यही धनले तँलाई नरकमा जाक्नेछ
जुन धनले तँ आफूलाई सत्जन ठान्छस्
त्यही धनले तँलाई पापी बनाउनेछ
जुन धनलाई तँ ईश्वर ठान्छस्
त्यही धनले तँलाई दैत्य बनाउनेछ
जुन धनलाई तँ पूजा गर्छस्
त्यही धनले तँलाई रोगी बनाई आर्यघाट पुर्‍याउनेछ
हे मानिस बुझ यहाँ कोही अजर, अमर छैन
मृत्युपछि धन तँसँग जाँदैन
गर्लास् तैंले मोजमस्ती र्दुइ दिन
भन्दैन मृत्युले तँलाई एकछिन
सोच्लास् धनले तँलाई ब्युँताउनेछ कि
यसो सोच्छस् त तँ पागलै पो छस् कि
तर्सथ यसो विचार गरी हेर
झट्ट नत्र मृत्युलोकमा पुर्‍याउन के बेर
झट्ट नत्र मृत्युलोकमा पुर्‍याउन के बेर

श्रोत : घटना र बिचार / नेपाल एचके

Saturday, November 17, 2007

गीत

धरतीपुत्र हौ हामी
रचना - ठाकुर मान लामा

धरतीपुत्र हौ हामी यी धरती माताको
गाउछौ सबै मिली जय होस नेपालको
जय नेपाल जय नेपाल जय नेपाल
जय नेपाल जय नेपाल जय नेपाल

शहीदको रगत बग्दछ नशा नशा भरी
झुक्दैन शिर हाम्रो हुन्नौ दास कहिल्यै नी
हाम्रो मान ईमान स्वतन्त्रताको मूल हो
सागरमाथा माथि फर्फराउछ ध्वजा हाम्रो सान यो
जय नेपाल जय नेपाल जय नेपाल
जय नेपाल जय नेपाल जय नेपाल


बिरताको इतिहास लेखिएको छ छातीभरी
सधै भरी फुल्ने यो हाम्रो साझा फुलबारी
यो माटोको सुबास हाम्रै पौरख बन्छ
नेपाली हौ हामी नेपालकै माया लाग्छ
जय नेपाल जय नेपाल जय नेपाल
जय नेपाल जय नेपाल जय नेपाल

धरतीपुत्र हौ हामी ............
गाउछौ सबै मिली ............
जय नेपाल जय नेपाल जय नेपाल
जय नेपाल जय नेपाल जय नेपाल

श्रोत : नेपाली साहित्यिक मंच