Thursday, December 20, 2007

कविता

खै त न्याय ?
रचना - ठाकुर मान लामा

खै अब त
न्याय खोज्न पनि जाने कहाँ
देख्दिन कतै पनि न्याय यहाँ वहाँ
न्यायको त नामोनिशान गरीसकेछन् स्वाहाँ
किनभने दुनियाले त
देखिसकेका छन् न्याय दिनेहरुको पारा
न्यायलाई बनाईसकेछन् अर्धमीहरुको आहारा
देखि यस्तो बिजोग न्यायको त्रसित छन् सारा
यो बिजोग त्यसै भएको होईन
गरीव माथि दिएर गरीवी निवारणको भाषण
नीति मात्र फ्याकी आफुचाही सुनमाथि आसन
देशको ढुकुटी रीत्याई चलाए भन्छन् सुशासन
अनि कसरी हुन्छ त न्याय ?
बेचिन्छन् गाउँका चेलीबेटि कैयन चोटि कैयन देशमा
घुम्छन् बेच्ने चाही रोवरवाफले गाउँ बिभिन्न भेषमा
समातिए घुस लिई छाडीदिन्छन् संरक्षक आफ्नै मेषमा
अनि कसरी हुन्छ त न्याय ?
दिनानुदिन बालबालिका अपहरणमा परिन्छन्
केही दिनभित्रै हत्या गरीएका सुचीमा दरीन्छन्
र बालहत्यारा चाही सधै फरार भनिन्छन्
अनि कसरी हुन्छ त न्याय ?
खुल्छन् कहिलेकाही कलकारखाना यो ठाउँमा
सुन्दैनन् मजदुरका आवाज खाली बन्द गर्ने दाउँमा
अनि गर्छन् याचना अनगिन्ति सरकारसँग सुरक्षाको नाउँमा
गरे मुक्त दलित कमैया भूमिको बातमा
न त जग्गा न त खानपीन पारीदिए घरको न घाटमा
त्यसैले त जे जे पायो त्यही बोल्छन् नेता आफ्नै मातमा
अनि कसरी हुन्छ त न्याय ?
बाढीपिडित भोकले ग्रसित खानाको माग गर्छन्
पाउँछन् चामल त्यो पनि सडेगलेको पर्छन्
बाध्यता भई खान्छन् त्यही अनि रोगी भई मर्छन्
अनि कसरी हुन्छ त न्याय ?
यस्तै अनगिन्ति अन्यायको भण्डार छ
न्याय खोज्न जानेको सधैं यहाँ हार छ
यस्तै हारको पिडाले पनि दिनानुदिन मानिसलाई मार्छ

श्रोत : दोबाटो

No comments: