Thursday, January 31, 2008

कविता

स्वतंत्रता
रचना : ठाकुर मान लामा

यी हातहरूमा जन्जिर नबाँधिएको भए
त्यो चन्द्रमालाई छुन्थें हुँला
पाउमा फलामका ढिस्का नजकडिएको भए
सारा ब्रह्माण्ड घुम्थें हुँला

मुखमा कसिलो पट्टी नकसिदिएको भए
स्वतन्त्रताका आवाज बुलन्द गर्थें हुँला
अँध्यारो यी कोठामा नकोचिदिएको भए
क्षितिज नै झलमल्ल पार्ने प्रकाश र्छर्थें हुँला

हक र अधिकारबाट बन्चित नगरिदिएको भए
जागरणका किताबहरू लेख्थें हुँला
हेयको यो नजर सबमा नराखिदिएको भए
दिनदुःखी गरिबमाथि दृष्टि राख्थें हुँला

पहाडरूपी सोचाइ मनमा नबसिदिएको भए
माया स्नेह प्रेमका खिताब चढाउँथें हुँला
समानतालाई विभेदको भण्डारले नछोपिदिएको भए
हातमा हात काँधमा काँध मिलाई हिँड्थे हुँला

श्रोत : घटना र बिचार / नेपाल एच के

Sunday, January 20, 2008


कविता

समय क्रान्तिको
रचना - ठाकुर मान लामा

जंजीरले बाधिएका मेरा यी हातहरु
त्यसले नै एकदिन लोहाको काम गर्नेछ
पट्टीले कसिएका यी मेरा मुखहरु
स्वयं खुली बुलन्द आवाज छर्नेछ

भवन यी फलामै फलामको भएपिन
यसैबाट मेरो नयाँ जन्म हुनेछ
बिताएका एक दिन एक पल पल
अदम्य साहस शरीरमा भर्नेछ

सहिएका यी लामा लामा मोटा लौराहरु
आगोको चिङ्गार बनि निक्लनेछ
तड्पाई मेरा भोगाई उपरान्त
एक क्रान्तियुगको चिनारी कहलिनेछ

व्यतित मेरा जीवन यी कालकोठरीमा
चिर्दै अँध्यारो जगमगायन प्रकाश दिनेछ
प्रवेशद्वारको बाहिरी मेरो दुनियामा हेर
एकदिन सुनौलो बिहानी आउनेछ

श्रोत : संगालो डट बी

Saturday, January 5, 2008

कविता

होइननी अभागी
रचना - ठाकुर मान लामा

मेरो पनि कुरा सुन म त होइननी अभागी
रगत सबको रातै हुन्छ नभन यो जाती उ जाती

रंगिबिरंगी फुल भए पनि आख़िर फुल हो नि
साना ठूला तारा भए पनि आख़िर तारा नै त हो नि
कोही हून्नन साना ठूला सब सामान जाती
रगत सबको रातै हुन्छ नभन यो जाती उ जाती

दुख्छ घाऊ सबलाई यहाँ जहा चोट लागे नि
पीर सबलाई उस्तै हुन्छ ब्यथा बढेपछि
समय चक्र हुन्छ उही सधै दिन राती
रगत सबको रातै हुन्छ नभन यो जाती उ जाती

मनैॅ पर्छ सबले एकदिन यो संसार छाडी
बाच्न देऊ मलाई खुशी साथ हासी हासी
अमर छैन जींदगी यो जानैपर्छ सबले एकचोटी
रगत सबको रातै हुन्छ नभन यो जाती उ जाती

मेरो पनि कुरा सुन म त होइननी अभागी
रगत सबको राती हुन्छ नभन यो जाती उ जाती

श्रोत : नेपाली साहित्यिक मंच

Thursday, January 3, 2008

कविता

शहीदको मौन भाषा
रचना - ठाकुर मान लामा

हेर तिमी आकाशमा
ताराहरूलाई
शायद तिमीलाई नै
हेरिरहेका छन् कि
तिमीलाई गिज्याइरहेका छन् कि
यस देशलाई हाँक्छु भन्ने
तिम्रो घमण्ड र तिम्रो चरित्र हेरी
तिमीलाई जिस्क्याइरहेका छन् कि
सुम्पेर तिमीलाई नै
यो देशको जिम्मा
आफूले दिएको बलिदान
व्यर्थै गएछ भनी सोच्दै छन् कि
कस्तो थियो मुलुक यो
कस्तो पारिदियौ
भनी रोइरहेका छन् कि
देशको छवि बिगार्ने तिमीलाई
मनमनै दुत्कारिरहेका छन् कि
हत्या, हिंसा, अशान्ति मात्र
तिम्रो शासनमा देखी
मुटु दुखाई चिच्याइरहेका छन् कि
तिम्रो हरेक क्रियाकलापको
समीक्षा गरी
तिमीलाई धिक्कारिरहेका छन् कि
त्यसैले बदली आफूलाई
बुझ उनीहरूको
मौन भाषा

श्रोत : घटना र बिचार / नेपाल एचके

Wednesday, January 2, 2008

गीत

नव बर्षको शुभकामना
रचना - ठाकुर मान लामा

पुर्णिमाको जुनजस्तै फुलिरहुन फुलहरु
माफ गरीदिनु है मलाई बिर्सिदिनु भुलहरु
नवबर्षको शुभकामना
भेटस्वरुप तिमीलाई यी गीतहरु

भोलीको कुरा हेर कस्लाई थाहा छ र
जीवन बाँच्नु छ आजै मरी लानु के छ र
नखोतल्नु है तिमीले बितेका पलहरु
नवबर्षको शुभकामना
भेटस्वरुप तिमीलाई यी गीतहरु

घामको किरणसरी यश तिम्रो फैलिरहोस्
हर सगर सागरमा प्रेम तिम्रो छाइरहोस्
नगर्नु है तिमीले कुनै शङ्काहरु
नवबर्षको शुभकामना
भेटस्वरुप तिमीलाई यी गीतहरु

पुर्णिमाको जुनजस्तै ……
नवबर्षको शुभकामना………

श्रोत : संगालो डट बी