Thursday, March 13, 2008

कविता

सबलाई ब्युँझाइदिनु
रचना - ठाकुर मान लामा

आवाज मेरो तिमीसम्म पुग्छ भने
तिमीले यो आवाज अरूसामु पुर्‍याइदिनु
स्वतन्त्रता र शान्तिका लागि लड्न
सुतिरहेका ती सबलाई ब्युँझाइदिनु

आवाज मेरो तिमीसम्म पुग्छ भने
तिमीले यो आवाज अरूसामु पुर्‍याइदिनु
पिल्सिएका ती जनताका लागि सेवा गर्न
हृदयभरि जोश भर्न सबलाई भनिदिनु

आवाज मेरो तिमीसम्म पुग्छ भने
तिमीले यो आवाज अरूसामु पुर्‍याइदिनु
समानताको यो अधिकारका लागि जुध्न
सामुका चट्टान फोड्न सबलाई हौस्याइदिनु

आवाज मेरो तिमीसम्म पुग्छ भने
तिमीले यो आवाज अरूसामु पुर्‍याइदिनु
निरङ्कुशताविरुद्घका लागि विचलित नहुन
सुमार्गको त्यो पथमा सबलाई हिँडाइदिनु

आवाज मेरो तिमीसम्म पुग्छ भने
तिमीले यो आवाज अरूसामु पुर्‍याइदिनु
एकता र अखण्डताका लागि सीमा कोर्न
सङ्गठित हातको महत्त्व सबलाई बुझाइदिनु

आवाज मेरो तिमीसम्म पुग्छ भने
तिमीले यो आवाज अरूसामु पुर्‍याइदिनु
देश र मातृभूमिको विकासमा लागि पर्न
धरती माताको टीका सबलाई लगाइदिनु

श्रोत : घटना र बिचार / ई पत्र डट कम

Tuesday, March 11, 2008

कविता

आँशु झारी रोएछन्
रचना - ठाकुर मान लामा

आज भन्दै भोली भन्दै
सबै हिजोको इतिहास भैसकेछन्
र सम्झिदा जति मिठो लागे पनि
वास्तवमा तिता नै रहेछन्
किनभने मेरा लािग
गर्नु पर्ने काम धेरै अधुरा बसेछन्
र जुन सिद्धिसकेका थिए
ती पनि कसरी हो अपुरा भएछन्
त्यही कारणले गर्दा
सबले मलाई धिक्कार्न थालेछन्
कतिलॆ हो कतिले त
नानाथरी बक्दै गाली गरेछन्
हिजोको म नायक
आज खलनायकमा दरीदिएछन्
पहिले मलाई भलाद्मी ठान्नेहरु
उनीहरुका लागि म अभद्र ठहरीएछन्
अब त यसले सक्दैन
यस्तै कुरा मनमा राखीसकेछन्
अलि सानोतिनो गरेको राम्रो कामको
वास्ता पनि गर्नै छाडीदिएछन्
मेरो यस्तो अवस्था देखेर
म प्रति कुनियत राख्नेहरु हाँसेछन्
केवल खाली केवल
मेरा आफ्ना मात्र आँशु झारी रोएछन्

श्रोत : तरुण पत्रिका

Thursday, March 6, 2008

कविता

आखिर किन ?
रचना :ठाकुर मान लामा

सम्पूर्ण दोष मलाई थोप्छौ
आखिर किन ?
तिम्रो आँगनको
सिमामा टेके भनेर ?
तर म मेरो शरीर
तिमीबाट जति टाढा भएपनि
मैलै बनाएका ती बस्तु त
तिम्रै घरभित्र बाहिर
छ नी होइन र ?

मन्दिर गुम्वा आदिमा
मैले पाइला टेक्दा
मलाई कुट्छौ
आखिर किन ?
के अपवित्र हुन्छ भनेर ?
जबकी मैले बनाएका
यी मन्दिर गुम्वा नै पवित्र हुन्छ भने
म स्वयं पनि पवित्र
ठहरीएनी होइन र ?

अनुहार मेरो
तिम्रो सामु पर्नै नहुने रे
आखिर किन ?
काम ब्रि्रन्छ रे ?
जबकी मैले होस् या
तिमीले या अन्य जो कोही
जसले पनि अनुहारले होइन
यी हात खुट्टाले गर्नु पर्ने होइन र ?

मेरो स्पर्शमा
तिमी कुजात हुन्छौ रे
आखिर किन ?
के तल्लो ओहदामा
गनिन्छौ भन्ने डरले ?
हामी दुबैजना
मानिस मानिस भएपछि
यस्तो तल्लो सोच राख्छौ भने
त्यस्तै भाव राख्छौ भने
त्यसै तिमी
तल्लो ओहदामा दर्‍यौ नी होइन र ?

आखिर किन
तिमी भेदभावको दृष्टिले हेर्र्छौ
तिमी सकुंचित भावना राख्छौ
माया प्रेमलाई द्वेश र रीषले छोपी
यी अधरबाट आगो निकाल्छौ
मनुष्यत्वको सम्वन्धलाई
किन उच निचको पर्खाल राखी
बिगार्न चाहन्छौ
आखिर किन ?

श्रोत : तन्नेरी डॉट कॉम