कविता
आमाको दुखेसो
रचना - ठाकुर मान लामा
आइपुग्यो टुप्लुक्कै आँगनीमा दसैं यो साल पनि
आमा बिचरी हेर्दैछिन् बाटो छोरा आउँछ कि भनी
पोहर साल दसै त्यसै बित्यो दिन गनी गनी
भन्छिन् ती आमा आँसु झार्दै भक्कानो मनमा लिई
अरूका छोरा लाहुरे घन्काउँदै रेडियो घर
आफ्ना पनि आउलान् भनी आँखा कति सोझयाए
अश्रुको धारा बग्यो कति नसोध तिमी मलाई
भन्छिन् ती आमा आँसु झार्दै भक्कानो मनमा लिई
सोध्दछन् बहिनीहरू दाइ कहिले आउँछन् भनी
भनुँ के उनीहरूलाई जवाफ आफैंसँग छैन नि
होला काम गर्दै बिचरा त्यहाँ दिनरात नभनी
भन्छिन् ती आमा आँसु झार्दै भक्कानो मनमा लिई
के खाँदो होला के लाउँदो होला पीर मनमा कति छ
देख्दा रमाई हाँसेका सन्तान अरूका मुटु चसक्क घोच्दछ
सम्झना गाउँ-बेसी घरको खुब गर्दो होला नि
भन्छिन् ती आमा आँसु झार्दै भक्कानो मनमा लिई
आउँछु पत्रमा चाँडै नमान्न पीर ऊ आफंै भन्दछ
कसरी बुझाउनु मनलाई यहाँ आफूलाई कस्तो हुन्छ
दुःखीको कर्म दुःख गरेर जीवन बित्दोरहेछ नि
भन्छिन् ती आमा आँसु झार्दै भक्कानो मनमा लिई ।
श्रोत : घटना र बिचार
Thursday, October 23, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment