Friday, January 23, 2009

गीत

जीउनु परे जीउछु म त

रचना - ठाकुर मान लामा

जीउनु परे जीउछु म त मेरै गीत सित

मर्नु परे मर्छु म त मेरै गीत सित

यो गीत मेरो धडकन

यो गीत मेरो जीवन

सपनीमै गाउँ म त

विपनीमै बाचुन्जेल

कोरी रहु गीत म त

विहान रात दिन

गीतका पाइलाहरु

पछ्याइरहु

यो गीत मेरो धडकन

यो गीत मेरो जीवन

सुख दुख जीन्दगीका

बोकिरहु गीतमा

साटिरहु प्रितहरु

सधैभरि यसैमा

हर कुना कुनामा

यो गीत गुन्जाइरहु

यो गीत मेरो धडकन

यो गीत मेरो जीवन

जीउनु परे जीउछु म त मेरै गीत सित

मर्नु परे मर्छु म त मेरै गीत सित

यो गीत मेरो धडकन

यो गीत मेरो जीवन

श्रोत : समकालीन साहित्य

लघुकथा

गरिबी
रचना - ठाकुर मान लामा

"बाबु ठुलो भएपछि के बन्छौ ?"
"म ठुलो भएपछि डाक्टर बन्छु । " छोराको यो जवाफमा रमाकान्त खुशी देखियो । तर आफ्नो जीवन गुजारा सम्झेर उ फेरी दुःखी भयो । कारण थियो जसोतसो महिनाभर खान्की पुर्‍याउने थोरै तलब । अब यस तलबले मात्र उसको छोराको त्यो महत्वाकाङ्क्षालाई कसरी पुरा गर्ने ? बिगत सम्झियो उसले । उसलाई पनि उसको बुबाले सानो हुदा यस्तै प्रश्न राख्थ्यो । र उसले पनि यहि जवाफ दिन्थ्यो - डाक्टर । यो सुनेर उसको बुबा दङग पर्थ्यो ।

तर गरिबीले थिचिएको उनीहरुको जीबनले उसलाई कहाँ आफ्नो लक्ष्य पहिल्याउन दिन्थ्यो र । ठुलो भएपछि धन्न उसले एउटा सरकारी कार्यालयमा पिउनको जागिर पाएको थियो । र यही जागिरले आफ्नो परिवार पालेको थियो ।

"ए रामुका बा ! ए रामुका बा ! चामल सकिएछ । किनेर ल्याउँ है…।" श्रीमतिको आवाजले उ झल्याँस्स बिउँझीयो आफ्नो अतितबाट । र छेवमै रहेको कलिलो छोराको अनुहारमा पुलुक्क हेर्‍यो । निर्दोष आँखाहरु उसलाई नै हेरिरहेको थियो । उसले मन थाम्न सकेन । झ्याप्प अँगालो मारी गालामा बेस्सरी म्वाई खायो र फटाफट चामल जोहो गर्न हिड्यो बाहिर …।

श्रोत : नेपाली साहित्यिक मंच

Wednesday, January 7, 2009


कविता

लडाइका वीर लाहुरेहरु
रचना - ठाकुर मान लामा

बारुदको धुवामा रुमलिने
बिचरा लाहुरेहरु
ती दुर्गन्धित हावामा
गामबेसीका स्वच्छन्दित
तरङ्गहरु कति खोज्दा होलान् !

पड्किन्छन् बारुदहरु
थर्किन्छन् मुटुहरु चुडिएलाझै गरी
त्यस्तो अवस्थामा
ती कोइलीका मधुर बोली सुन्न
कति आतुर हुन्छन् होलान् ती लाहुरेहरु !

कोलाहल आवाज
ह्दयविदारक चिच्याहटहरु
छरपस्ट लाशहरुबीच
कति कामना गर्छन् होलान् !
कति सम्झन्छन् होलान् !
ती शब्द -
शान्ति ! शान्ति !! शान्ति !!!

मुटु चट्टानझै कठोर पारी
माया, ममता सब बिर्सी
आदेशको पालना गर्न
विवश छन् त्यो समयमा
ती लाहुरेहरु ।
कति भाग्न खोज्छन् होलान्,
कति तड्पिएर रुन खोज्छ होलान्, ती लाहुरेहरु !
तर स्वाभिमानका लागि
बाध्य भएका छन्
ती लडाइका वीर लाहुरेहरु !
ती लडाईका वीर लाहुरेहरु !!

श्रोत: नेपाल एच के