Wednesday, January 7, 2009


कविता

लडाइका वीर लाहुरेहरु
रचना - ठाकुर मान लामा

बारुदको धुवामा रुमलिने
बिचरा लाहुरेहरु
ती दुर्गन्धित हावामा
गामबेसीका स्वच्छन्दित
तरङ्गहरु कति खोज्दा होलान् !

पड्किन्छन् बारुदहरु
थर्किन्छन् मुटुहरु चुडिएलाझै गरी
त्यस्तो अवस्थामा
ती कोइलीका मधुर बोली सुन्न
कति आतुर हुन्छन् होलान् ती लाहुरेहरु !

कोलाहल आवाज
ह्दयविदारक चिच्याहटहरु
छरपस्ट लाशहरुबीच
कति कामना गर्छन् होलान् !
कति सम्झन्छन् होलान् !
ती शब्द -
शान्ति ! शान्ति !! शान्ति !!!

मुटु चट्टानझै कठोर पारी
माया, ममता सब बिर्सी
आदेशको पालना गर्न
विवश छन् त्यो समयमा
ती लाहुरेहरु ।
कति भाग्न खोज्छन् होलान्,
कति तड्पिएर रुन खोज्छ होलान्, ती लाहुरेहरु !
तर स्वाभिमानका लागि
बाध्य भएका छन्
ती लडाइका वीर लाहुरेहरु !
ती लडाईका वीर लाहुरेहरु !!

श्रोत: नेपाल एच के

No comments: