Tuesday, April 1, 2008

कविता

महान नेता
रचना - ठाकुर मान लामा

पल्टाए अखबारका पानाहरु
कतै मेरो नाम छापिएको छ कि भनेर
तर कतै पाउदिन म
हुनु पर्ने हो
हिजो मात्र त्यत्रो
घाटी सुक्ने गरी भाषण गरेको
भाषण पछि आफ्नालाई रासन देुको
खै त त्यसको बारेमा
त्यति मात्र हो र
जुलुसमा पछि पछि हिडेको
नमान्दा पुलिसको लठ्ठी खाएको
टाउको भरी टाँका लाउनु परेको
खै त्यसको बारेमा
त्यति मात्र हो र
घाइते भनी नेता भेट्न आएको
अवस्था देखि दुःख प्रकट गरेको
भत्स्रना बक्तव्य निकाल्छु भनेको
खै त त्यसको बारेमा
त्यति मात्र हो र
बाहिरी नेता बाट समेत फोन आएको
मेरा हाल अवस्था बारे जानकारी लिएको
अनि के के कुन्नि समर्थन र बिरोध जनाएको
खै त त्यसको बारेमा
म त जनताको सेवक
उनीहरुको सेवाको लागि के के गरीन र
कसको चाकरी गरीन र
मेरा जनताहरु गरीब छैनन् भनेर
देखाउन भए पनि पजेरो कहाँ चढिन र
उनीहरुले नै माया गरी दिएको कर कमिसन
बाट ठुल ठुला महल ठड्याउने काम किन गरीन र
बिजुली बत्ती ल्याउन
कसलाई खोला नदी बेचिन र
तर खै किन
आज त्यस्तो हुदा पनि
एक अक्षर पनि कतै पाउदिन

श्रोत : संगालो डॉट बी

No comments: