Thursday, December 17, 2009


कविता

महँगीमा एउटा गरिब नेपाली
रचना - ठाकुर मान लामा

गरिबीले थलिएको म नेपाली
आकाशिएको त्यो महँगी
किन मेरै पोल्टामा झर्छ ?

सुन चाहिएको थिएन र छैन पनि
तर सुनभन्दा नुन महँगो हुँदा
कसरी बाँच्नु म गरिब नेपाली ?

उकालो रफ्तार साथ चढ्दै छ ऋण
ओरालो र्झन महँगी त्यै पनि मान्दैन
चुहिएको छाप्रोमा जीवन चलाउँदै छु म नेपाली

बेरोजगारले थलिएको मेरो देश
जहाँ साह्रै सस्तो भइरहेको यो महँगी
कसरी उचाल्न सक्छु म नेपाली ?

चन्दा, अनि के-के हो अनुदानको
ठूलो पोको देशभित्र छिर्दा पनि
नआइपुग्दा मकहाँ अचम्भित छु म नेपाली

मान्छे मान्छेको मोल कति महँगो
तर, जीवनको मोललाई खेलाँची नै सम्झिँदा
निराश भएको छु म गरिब नेपाली

प्राकृतिक स्रोत र सम्पदाको धनी देशमा
हरेक बिहानी प्रहरमा उठ्नासाथ
सधैं पढ्न बाध्य भएको छु महँगी म नेपाली
सधैं पढ्न बाध्य भएको छु महँगी म नेपाली

श्रोत : घटना र बिचार

Saturday, September 26, 2009


कविता

सैनिक :४
रचना – ठाकुर मान लामा

आउँदैछु बाबा अँध्यारो नृशंस ती क्षेत्रबाट
बिजयको माटो निधारमा लगाई आज
फर्कँदैछु आमा तपाईंको आशीर्वादले
झुकेको थिएन न झुक्छ शिर अब कहिल्यै

लडाइको कालो मैदानलाई सहर्ष पार गर्‍यौं
आफ्नी मातृभूमि जननीलाई सम्झी
अक्षर सुनौलो एउटा इतिहासमा कोर्‍यौं
सक्छौ हिँड्न संसारभरि गम्की

भनिदिनू दिदी ती पाखा पखेरुलाई
गौरवको छाता ओढी आउँदैछु
सुनाइदिनू बहिनी ती लेक बेसीलाई
बोकी हाँसो खुशी उसको ल्याउँदैछु

संगाली दाजु माया माटोको छातीभरि
लुटपुटिन ऊसँग यो मनलाई कुराएको छु
पवित्र ती भाइ, झरना र छाँगासरी
नाच्न यो चञ्चलतालाई पर्खाएको छु

हुनेछु केही दिनमै म तिमीसँग
साट्न खुशी तिम्रै आँगनमा
झर्नेछु त्यही प्यारो देउरालीमा
काहानी वीरताको सबलाई सुनाउन

श्रोत : नेपाल डट एचके

Sunday, September 13, 2009

कविता

जवाफ पाइनँ
रचना - ठाकुर मान लामा

मैले सपना कोरेँ
रड्गीचङ्गी इन्द्रेणी रङ्गले भरेँ
तर पनि
सपना, विपनामा चरितार्थ हुन सकेन
किन ?
जवाफ मसँग छैन

मैले उनलाई माया पनि गरेँ
स्वच्छ र निर्मल मनले गरेँ
तर पनि
त्यो माया किन सफल हुन सकेन
किन ?
जवाफ मसँग छैन

मैले हरेक चिजसँग मित्रता साटेँ
हृदय भरिको आत्मियता बाडेँ
तर पनि
हरेक चिजले मलाई आफन्त भावले हेरेन
किन ?
जवाफ मसँग छैन

मैले त्यसैलाई नै किताबमा लेखेँ
मोटो र चिल्लो गाताले सजाएँ
तर पनि
किताब किन सार्वजनिक हुन मानेन
किन ?
जवाफ मसँग छैन

मैले सबैलाई यो प्रश्न सोधेँ
प्रश्नको जवाफ सबसँग खोजेँ
तर पनि
निरुत्तर दृष्टि बाहेक केही पाइँन
किन ?
जवाफ मसँग छैन ।

श्रोत : तन्नेरी डट कम

Tuesday, August 18, 2009


कविता

सैनिक - 3
रचना - ठाकुर मान लामा

अनकन्टार कहालीलाग्दो यो बिरानो ठाउँमा
न त कुनै भोक न त कुनै प्यास भनी
कर्तब्य पालना गर्दै मुलुकको सुरक्षा खुकुरीको भरमा
चनाखो भई बसिरहेको छु हर क्षण हर घडी

टाढिएको छु दूर कहीं आफ्नो जन्मघरदेखि
पाउँछु माया सम्झना केवल ती छामी पत्र
माटोको ममता उस्तै सगाँल्नै पर्छ भनी
सुन्दैछु आदेश सबको यत्र तत्र

आँशु झर्छ कति लुकाउनु त्यसलाई कठिन
रुमालै चिनो दिएको त्यसैमा भिज्छ
सम्झनाको त्यो चिनो हेर्दै हरेक रात दिन
बुझाउँछु मनलाई त्यै पनि यो भक्किन्छ

सतर्क को तीखो आवाज गुन्जिन्छ यो कानमा
झस्कन्छु तब सम्झनाको मीठो तन्द्राबाट
सतर्क बस्छु उभिई गह्रौं मन लिई ज्यानमा
कोशिस फेरि हुन्छ नियाल्न घरलाई त्यो चन्द्रबाट

सैनिक हुँ कठोर मन बनाई हिँड्दैछु
मानिस आम जस्तै म पनि हुँ भनी बिर्सिई
देशले दिएको यो जिम्मेवार कर्म यही पोख्दैछु
भोलि बिहानको त्यो सुनौलो बिहानी कल्पीई

श्रोत : नेपाल डट एचके

Saturday, July 25, 2009

कविता

उँच-नीचको पतङ्गले हिर्कायो
रचना - ठाकुर मान लामा

'नहिँड्नू यो बाटो बुझ्नु तेरो लागि बनेको होइन
नहेर्नू नजर झुकाउनु सधै ठूलो तँ कदापि
हैन'यस्तै तीखा बचन म ह्दयभरि बोकी हिँड्दैछु
रूप मानिसको तर कर्म एक भेडाको जस्तै सँगाल्दैछु

रगत रातै भन्छन् सबले सुन्छु देख्छु म पनि
किन बैरी भएँ म उसका लागि त्यसैले सोच्छु हर घडी
छुन हुन्न रे सामान केही म त अछुत रे
छोइ हाले केही गरी अन्जानैमा पनि उसको जात जान्छ रे

गार्हो सार्हो सानो तिनो काम गर्न चाहीँ बोलाउँछन्
सकिएपछि कुकुरलाई लखेटे झैँ लखेटछन्
कुनै भाउ दिन्नन् कुनै मान दिन्नन् किन यस्तो
मानिस त म पनि हुँ तर मलाई हेर्ने नजर किन सस्तो

थाहा छ देवतालाई कसले पो देखेको छ र
तब उसले मैले बाल्ने दीयोमा फरक के नै छ र
जीवन चक्रमा बाँधिएर जो सुकै हिँड्नुपर्दछ
फेरि उसले नै किन अमृत पिएको जस्तो गर्दछ

सृष्टिको सिर्जना गजब छ मानिसलाई नै ठूला साना बनाउने
ठूला त ठूला भए सानालाई भुसुना पनि नगन्ने
यही माटोले जन्मायो मलाई यही माटोले हुर्कायो
आमा यही माटो ठूली तर उँच नीचको पत्तङ्गले मलाई हिर्कायो

श्रोत : नेपाल यूथ सोसाइटी ( तन्नेरी डट कॉम )

Tuesday, July 14, 2009

लघुकथा

बजेट
रचना- ठाकुर मान लामा

उसले ऋण गरेर भए पनि त्यसै थन्किरहेको थोत्रो रेडियो हिजै मात्र बनाएर ल्याएको थियो । उसको मुहारमा एक किसिमको चहक उत्सुकता प्रष्टै बाहिरबाट देखिन्थ्यो । बिहान उठेदेखि उ त्यो रेडियो सँग टपक्क टाँसिरहेको थियो मानौ त्यो रेडियो कुनै टिनको सानो बक्सा होइन उसको काखे छोरा नै थियो ।
त्यो रेडियो उसकी श्रीमतिले दाइजोस्वरुप ल्याएकी थिइन । गत बर्ष बजेटले उ जस्तालाई केही राहत दिने रोजगारीको ग्यारेण्टि दिने जस्ता कुरा बाहिर आउँछकि भन्ने उसले सोचेको थियो । परिस्थिती बदलिएको अवस्थामा उसले त्यस्तो आशा राख्नु पनि एकदम जायज थियो । तर उसले सोचेजस्तो नआउँदा उसलाई भित्रभित्रै रिस उठेको थियो । फलस्वरुप रिसको झोकमा उसले त्यो रेडियोलाई भुईमा बॆस्सरी बजार्‍यो । त्यसपछि उसले त्यो रेडियोलाई फेरी बनाउने हेक्का राखेन ।
मंहगी चुलियो । ज्यामी मजदुर गरेर उसले बल्ल तल्ल केही छाक छोड्दै भएपनि जीवन धानिरहेको थियो । बन्द हडतालले त उसको त्यो श्रम पनि लगभग बेकार हुने अवस्था भइरहेको थियो । यतिकैमा सरकार फेरीयो । र त्यो सरकारबाट बजेट घोषणा हुने तयार भयो । अब त केही आउला कि भोकै बस्नु पर्ने दिन नआउला कि नभए पनि बेरोजगारी भत्ता बढ्छ कि भन्ने आशमा उसले सो रेडियो बनाएको थियो ।
त्यसकै लागि आज मजदुर गर्न उ बाहिर पनि गएको थिएन । बजेट आउने क्रम शुरु भयो । उसले उत्सुकता पुर्वक कान चनाखो पारेर सुन्यो । मन्त्रीको आवाज धोत्रो सायद धेरै बेर बोलिरहदा त्यस्तो भएकोले हुन सक्छ प्रष्ट आइरहेको थिएन । पानी घटघट पिएको पनि सुनियो । र त्यसपछि फेरी मन्त्रीको भाषण जारी रहने काम भयो । दई तीन घण्टा सुनिरहदा पनि गरिबहरुको लागि ज्यामी मजदुरहरुको लागि भनेर एउटै कुरा आएन । यतिकैमा बजेट यति खर्बको…… करोड भनी मन्त्रीले बजेट भाषण टुङ्ग्याएको सुनियो ।
रिसले उसले त्यो रेडियो ' लौ खा.........' भन्दै भुईमा बजार्‍यो बिगतको बर्ष झै। अब चाहि त्यो रेडियो केही गरी पनि नबनाउने भनेर अठोट गर्‍यो । र हिड्यो बाहिर । अर्को कोठाबाट श्रीमति चाहि उसको क्रियाकलाप निरन्तर चुपचाप नियालिरहेकी थिइन अबोध बालिका झै……………।

श्रोत : नेपाली साहित्यिक मंच

Sunday, June 14, 2009

कविता

आफन्तको स्वभाव
रचना - ठाकुर मान लामा

आफ्नै उही लाग्छ सधै आफुलाई आफन्त नै
ऋण लियो उसबाट केही गरी हुन्छ नजर फरक नै

माग्नु नपरोस अब उपरान्त उसको दैलोमा गई
भन्दा तर दैव पठाउँछ किन सधै जसो उसकहाँ नै

जान्न अब केही गरी बाध्यताले हिडाउँछ उतै
पाउछु ऋण पाउ मली चर्को ब्याज ढाडमा बोक्तै

ढिला भयो ऋण तिर्न फैलाउँछ हल्ला उ बेस्सरी
भेट हुदा शालिन बन्न खोज्छ उ केही नभने जस्तो गरी

ऋण तिर्छु भनेकै थिए तिर्नै पर्छ जसरी
हुन्छ आफुलाई लाज अरु सामुन्ने पर्दा खेरी

तिर्न ऋण बुझाउँछु पैसा जब उसकहाँ नै गई
हेर्नुपर्छ मुहार उसको फुल्दछ प्रसन्नताले गमक्कै

श्रोत : तन्नेरी डट कॉम

Saturday, June 13, 2009




कविता

सैनिक - २
रचना - ठाकुर मान लामा

कसैले देखेन, कसैले बुझेन
कसैले किन हो चिन्न चाहेन
आँशु भित्र-भित्रै दबाई लड्दै छु
रणक्षेत्रको यो कुरुप मैदानमा ।

टाढिँदै आफन्तदेखि, आफ्नो जमीनदेखि
पर यो बिरानो तथा निमेषमा
अज्ञात प्रहारहरुको सामना गर्दैछु
अज्ञात भविष्यको छाँयामा ।

तर लडदैछु म वीरतासाथ नै
दायित्व छ जो मसँग
कायरता भनी चिनाउन चाहन्नँ
न झुक्छ शिर कसैसँग ।

मानवता म कुल्चिँदैछु
दानवताको सीमा मिची
के धर्म यही हो - -म सोध्छु
सोच्लान् के आफन्तले फेरि -

तथापि बहुलाउँछु सामुन्ने जब
देखी अपरिचित लासहरु
जससँग मेरो रिस छैन
न भएको छ कुनै बातहरु ।
कुहिरो मण्डल ती बारुदका धूँवा आकाश भर्दै
शान्तिको कुनै नामोनिशान आउन दिँदैन छेउ
तब म चिच्याउछु आँखा-कान बन्द गर्दै
हे भगवान ! अब त शान्त पारिदेऊ ।

श्रोत : नेपाल एच के

Thursday, June 11, 2009

लघुकथा

शिष्टचार
रचना - ठाकुर मान लामा

शिष्टचार भन्ने चिज कति मिठो हुदो रहेछ भन्ने कुरा बल्ल हरिरामले बुझ्यो । उसले त्यही शिष्टचारको बिभिन्न अभ्यास भने यसरी गरेको थियो ।
प्रथम शिष्टचार अभ्यास ः कामको लागि बिभिन्न सँग हार गुहार गर्‍यो। अरुको खुट्टा समातेर ढोग्यो पनि । शिष्टचारको यो अभ्यासमा उसले एकदिन सफलता पायो । उसले एउटा नयाँ कार्यालयमा जागिर पायो ।
दोस्रो शिष्टचार अभ्यास ः कार्यालयमा भर्खर नयाँ नयाँ जागिरे भएको हुनाले कार्यालयको कर्मचारीहरुसँग राम्रो रसबस बसाउन सानो देखि ठुलासम्मलाई नमस्कारको अभिवादन चढाउँदै गयो । सबले उसको त्यो नमस्कारलाई स्वीकार गर्‍यो । सबैसँग हेलमेल भइसकेपछि शिष्टचारको त्यो अभ्यास अब खल्लो लाग्न थालिसकेको थियो ।
तेस्रो शिष्टचार अभ्यास ः पहिलो र दोस्रो शिष्टचार अभ्यास सफल भइसकेपछि तेस्रो शिष्टचार अभ्यास गरी हेर्ने बिचार उसमा आयो । तेस्रो शिष्टचार अभ्यासमा कर्मचारीहरुको मिलेमतोमा आफुलाई कार्यालयको हाकिम बनाइदिन आग्रह गर्दै कार्यालयको कर्मचारीहरुलाई एउटा शानदार होटलमा ठुलो भोज राख्यो । आफु हाकिम भएपछि उनीहरुको स्तर बढाईदिने आश्वासान दियो उसले । आफ्नो खल्तिबाट केही रकम झिकी अरुलाई बाड्यो पनि। अरुले पनि यस काममा उसलाई सघाउने प्रदिबद्धता जाहेर गरे । केही दिनमै उ त्यो कार्यालयको हाकिम भयो जुन कार्यालयबाट उसले आफ्नो जागिरको पहिलो सिढी चढेको थियो ।
चौथो शिष्टचार अभ्यास ः हाकिम भएपछि उसको शिष्टचार त्यसपछि कहाँ पुग्यो कहाँ । पहिले अरुको खुट्टा ढोगेर कैयनलाई निधारमा हात लगि नमस्कार स्वस्ति गर्ने उसको प्रबृति भनौ वा ब्यबहार त्यसपछि एकाएक परिवर्तन भयो । बरु उल्टै उ कहाँ काम माग्न आउने मानिसहरुको नमस्कार स्वस्ति लाई तुच्छ ठान्दै गमक्क पर्दै छाती फुलाउँदै आफ्नो शान शोहरत देखाउन थाल्यो । आफ्नै नजिकका नातागोतालाई पनि टाढै राख्ने कोशिश गर्‍यो। तर धन हुनेहरुसँग भने टिमिक्क टासुँला झै गरी ब्यबहार भने उसले यथावत राख्यो । सायद त्यो ब्यबहारमा पनि उसले शिष्टचारको नयाँ रंग खोजिरहेको थियो । कुनै स्वार्थ उसले त्यसमा लुकाइरहेको थियो । जे होस् " शिष्ट " को त्यो " अचार " भने उसलाई एकदम फापिरहेको थियो । स्वादिलो भइरहेको थियो ।

श्रोत : नेपाली साहित्यिक मंच

Thursday, June 4, 2009

कविता

खोजी
रचना - ठाकुर मान लामा

कसले लेख्यो यो कबिता
खोज्दैछ यो संसार
बाँच्दा कसैले वास्ता गरेन
बिचित्र छ यो संसार

कति हर्षका शब्द लेखे
स्वीकारेन यो संसारले
कति पिडाका अक्षर कोरे
बुझेन यो संसारले

प्रकृतिको आचल छोए
हेरेन यो संसारले
मातृभुमिको माटो लाए
देखेन यो संसारले

अस्तित्व आफ्नो आफैले बिर्सिए
चियाउन पनि चाहेन यो संसारले
ह्दय छिया छिया पारी बाडे
सम्झेन कतै यो संसारले

फेरी
किन आज मलाई सोध्दैछ
किन आज मलाई डाक्दैछ
टाढिई सके यो जुनीबाट
त्यै पनि मलाई खोज्दैछ
यो संसारले
यो संसारले …।

श्रोत : समकालीन साहित्य

Monday, June 1, 2009

कमेन्ट ः ठाकुर मान लामा
पश्चिमतिर

पश्चिमकै कथा सुनियो सारा नालीबेली
तर पक्कै उदाउँछ अवश्य नै पुर्वबाट उजेली
उज्यालो त्यही प्रकाश पश्चिममा पुगेको हो
फेरी सबले प्रकाश त्यही पश्चिममा किन खोजेको हो

पुर्वमा घाम नउदाए पश्चिम किन अस्ताउन जान्थ्यो
रिमोट चल्ने ठाउँले किन मानवियता खोज्दै यहाँ भन्थ्यो
ओहो दुःख बुझ्न अलौकिक जीवनको रहस्य बुझ्न
जानुपर्छ एकचोटि सभ्यता त्यो पुर्वमा सिक्न

पश्चिमकै कुरा सुन्छौ पश्चिमकै कुरा बुन्छौ
पश्चिमकै कुरा सुन्छौ पश्चिमकै कुरा बुन्छौ फेरी पश्चिमी हौ भन्न किन हामी लाज मान्छौ
कारण जे सुकै भए पनि एक चिजमा हामी गर्व गर्छौ
नेपाली हु नेपाली हौ नेपालको यही सौन्दर्यता हामी मन गर्छौ

कमेन्ट ः सहदेब पौड्यालको पश्चिमतिर कविताको लागि - फेसबुक - हिमाली स्वरहरु
मिती ः जेठ १८ २०६५ ई।सं। जुन १ २००९

Sunday, May 24, 2009

गीत

दुःख बाडेर जीउनुभन्दा
रचना - ठाकुर मान लामा

दुःख बाडेर जीउनुभन्दा दुःख पिएर मर्नु जाती
साथ दिने कोही हुन्नन संसारकै यही हो रिती

संसार नै एउटा यस्तो के हो बुझ्न नसकिने
जता हेर्‍यो अर्कै लाग्ने बाटो खोज्न नसकिने
उज्यालो जुन तर मनमा छाया
भरोसा केही हुन्न जीन्दगीको यहाँ
दुःख बाडेर…………

जीउनु पर्छ एक्लै यहाँ मर्नु पनि एक्लै यहाँ
बसन्तको फुल पनि ओइलिजान्छ एकदिन यहाँ
देलान हाँसो कसैले कसैगरी
आफ्नो दुःख आफ्नै छातीभरी
दुःख बाडेर……………

श्रोत : समकालीन साहित्य

Friday, May 15, 2009


कविता

सैनिक
रचना- ठाकुर मान लामा


छातीमा तातिएको रगत बोकी
आफ्नो देशको रक्षाको लागि
निरन्तर म लागिरहेको छु
सैनिक पोशाक पहिरिई

हातमा बन्दुक कम्मरमा खुकुरी
आफ्नो देशको शानको लागि
निरन्तर म लागिरहेको छु
शरीरमा जोश भरी

चनाखा कान पारी तेजिला आँखा
आफ्नो देशको मानको लागि
निरन्तर म लागिरहेछु
शत्रु यहाँ कोही नपसून् भनी

माटोको टीका निधारमा लगाई
आफ्नो देशको अखण्डताको लागि
निरन्तर म लागिरहेछु
जननीको आशीर्वाद बोकी

राष्ट्रियताको माया हृदयभरि संगाली
आफ्नो देशको शिर उँचो पार्नको लागि
निरन्तर म लागिरहेछु
जित्नको लागि यो युद्ध, अब कसैले गर्न नपर्ने गरी ।

श्रोत : नेपाल एच के

Sunday, April 12, 2009

कविता

स्वागत नव बर्ष

रचना - ठाकुर मान लामा

तरङ्गित मौषम उन्माद त्यस्तै पार्न

मनमा उल्लास खुशी तनमा भर्न

स्वच्छन्दताको पवन बहार बहदै

आउ नव बर्ष स्वागत छ सधै तिमीलाई

आशा यही बिजारोपण हुदै हुर्कदै फुल्न

सपना रंगीन सबले यही देखि साँच्न

शितलता ती जुनका लेप सरी लगाउदै

आउ नव बर्ष स्वागत छ सधै तिमीलाई

दुःख कष्ट सब सदा नासिउन

मनमा कतै रीस राग क्रोध नआउन

यस्तै यस्तै कामना ह्दयमा जगाउँदै

आउ नव बर्ष स्वागत छ सधै तिमीलाई

पुलकित हुदै पालुवाहरुमा कोमलता लहराई

फैलाई बाहु शान्तिको आवाज उठाई

कुना काप्चा कन्दराहरुमा ज्योति भर्न

आउ नव बर्ष स्वागत छ सधै तिमीलाई

हिजोको तिक्तता मैलता सबै बिर्साउन

एकताको भाव सँगै हाथ अघि बढाउन

सुन्दर सुनौलो भबिष्य यही नयनमा देखाउदै

आउ नव बर्ष स्वागत छ सधै तिमीलाई

श्रोत : समकालीन साहित्य

Wednesday, March 4, 2009

कविता

प्रेम राग
रचना - ठाकुर मान लामा

फैलाई मायाका रंगहरू
पोतिदिऔँ त्यो आकाशमा
रंगीन झलमलायान इन्द्रेणी
सजाइदिऔँ सबको हृदयमा

सुगन्धित गुराँसको त्यो सुवास
छरिदिऔँ हर कुनामा
धर्म जातजाति केही हैन यो त
हुन्छ भनिदिऔँ सब एक प्रेममा

लोभ लालच छलकपट
रीसराग द्वेश नराखौँ मनमा
पुलकित भई फुल्छ प्रेम हर क्षण
सघाइदिऔँ शान्ति स्वतन्त्रता छाउन त्यसमा

हिरा कोहिनुर ती खजाना
तुच्छ देखिदिऔँ सबले अब
अडेको जीवन केवल त्यसमा
रंगाइदिऔँ आत्मा आनन्दित केवल प्रबल प्रेममा

श्रोत : तन्नेरी डट कम

Monday, February 23, 2009


कविता

रणमैदानको झलक
रचना - ठाकुर मान लामा

उफ !
बम र बारुदको धुवामा
नजरहरु दुस्मनलाई
हेर्न थाक्दै गइरहेछन्
कारुणिक दारुणिक चिच्यावटहरुमा
आफ्नै कमाण्डरको आदेश
सुन्न छाड्दै गइरहेछन्

चोइटा चोइटा टुक्रिएका लाशहरु
छातीमा गहिरो घात पुर्‍याउदैछन्
किन गर्दैछौ अरुको संहार
ह्दयमा यस्ता अनेकन
बात हुर्क्याउदैछन्

नजिकै एक घाइते दुस्मन
पानी पानी भन्दै माग्दै गरेको
उफ ! मनमा
राष्ट्रियताको भावना पुग्दा
मित्रबाट मानवतालाई कुल्चिन पुगेछन

सम्झाउन सक्दिन मित्रहरुलाई
कारण दुस्मनी गोली धमाधम बर्सिरहेछन
मानवतालाई बिर्सी देश स्वाभिमान
आँखासामु नाचिरहेका छन्
त्यसैले होला
हर कोही खुखार हिस्रक बन्दै गइरहेछन्

रणमैदान रगतको समुद्र
यत्र तत्र बन्दै गईरहेका छन् उता भित्र भित्रै ह्दयमा तप्किरहेको
ज्वालाले शान्ति शान्ति
चाहियो भन्दै गइरहेका छन्
कतैबाट शान्तिको सन्देश
आउँछ कि कान तेर्सिदैछन
तर
बम बारुद र धुवामा
ती कानहरु सुनिन छाडिदैछन
ती कानहरु थुनिन पुग्दैछन

श्रोत : नेपाल एच के / समकालीन साहित्य

Sunday, February 8, 2009

गीत

तराई खेतमा हिमाली पानी
रचना - ठाकुर मान लामा

तराई खेतमा हिमाली पानी मिसाई हेरन

तराई गर्मी सहनलाई पहाडी चिसो छामी हेरन

सुनको बाला लहलह हो ........

सुनको बाला लहलह गाउँबेसीमा झुल्दै

हिउँको थुम्को टहटह हो .........

हिउँको थुम्को टहटह सगरलाई चुम्दै

यही धरतीमा नेपाली हात चलाई हेरन

श्रमको पसिना यही माटोमा खोलाझै बगाई हेरन

कोइली चरी चिरीबिरी हो .......

कोइली चरी चिरीबिरी रुखको हाँगैमा

शान्तिको गीत तिरीरी हो ........

शान्तिको गीत तिरीरी मुरली धुनैमा

नेपाली दिल नेपाली मुटु सबको माझ खोली हेरन

नेपाली भेषभुषा अनि संस्कृतिलाई माया गरन

जोडी खुकुरी टलल हो .......

जोडी खुकुरी टलल नेपाली शानमा

शहिदको रगत सलल हो ........

शहिदको रगत सलल नेपाली ज्यानमा

पबित्र सम्बन्ध खोज्न सत्यलाई पछ्याई हेरन

नेपाल सजाउनलाई सब एक भई लागि परन

तराई खेतमा हिमाली पानी मिसाई हेरन

तराई गर्मी सहनलाई पहाडी चिसो छामी हेरन

श्रोत : समकालीन साहित्य

Friday, January 23, 2009

गीत

जीउनु परे जीउछु म त

रचना - ठाकुर मान लामा

जीउनु परे जीउछु म त मेरै गीत सित

मर्नु परे मर्छु म त मेरै गीत सित

यो गीत मेरो धडकन

यो गीत मेरो जीवन

सपनीमै गाउँ म त

विपनीमै बाचुन्जेल

कोरी रहु गीत म त

विहान रात दिन

गीतका पाइलाहरु

पछ्याइरहु

यो गीत मेरो धडकन

यो गीत मेरो जीवन

सुख दुख जीन्दगीका

बोकिरहु गीतमा

साटिरहु प्रितहरु

सधैभरि यसैमा

हर कुना कुनामा

यो गीत गुन्जाइरहु

यो गीत मेरो धडकन

यो गीत मेरो जीवन

जीउनु परे जीउछु म त मेरै गीत सित

मर्नु परे मर्छु म त मेरै गीत सित

यो गीत मेरो धडकन

यो गीत मेरो जीवन

श्रोत : समकालीन साहित्य

लघुकथा

गरिबी
रचना - ठाकुर मान लामा

"बाबु ठुलो भएपछि के बन्छौ ?"
"म ठुलो भएपछि डाक्टर बन्छु । " छोराको यो जवाफमा रमाकान्त खुशी देखियो । तर आफ्नो जीवन गुजारा सम्झेर उ फेरी दुःखी भयो । कारण थियो जसोतसो महिनाभर खान्की पुर्‍याउने थोरै तलब । अब यस तलबले मात्र उसको छोराको त्यो महत्वाकाङ्क्षालाई कसरी पुरा गर्ने ? बिगत सम्झियो उसले । उसलाई पनि उसको बुबाले सानो हुदा यस्तै प्रश्न राख्थ्यो । र उसले पनि यहि जवाफ दिन्थ्यो - डाक्टर । यो सुनेर उसको बुबा दङग पर्थ्यो ।

तर गरिबीले थिचिएको उनीहरुको जीबनले उसलाई कहाँ आफ्नो लक्ष्य पहिल्याउन दिन्थ्यो र । ठुलो भएपछि धन्न उसले एउटा सरकारी कार्यालयमा पिउनको जागिर पाएको थियो । र यही जागिरले आफ्नो परिवार पालेको थियो ।

"ए रामुका बा ! ए रामुका बा ! चामल सकिएछ । किनेर ल्याउँ है…।" श्रीमतिको आवाजले उ झल्याँस्स बिउँझीयो आफ्नो अतितबाट । र छेवमै रहेको कलिलो छोराको अनुहारमा पुलुक्क हेर्‍यो । निर्दोष आँखाहरु उसलाई नै हेरिरहेको थियो । उसले मन थाम्न सकेन । झ्याप्प अँगालो मारी गालामा बेस्सरी म्वाई खायो र फटाफट चामल जोहो गर्न हिड्यो बाहिर …।

श्रोत : नेपाली साहित्यिक मंच

Wednesday, January 7, 2009


कविता

लडाइका वीर लाहुरेहरु
रचना - ठाकुर मान लामा

बारुदको धुवामा रुमलिने
बिचरा लाहुरेहरु
ती दुर्गन्धित हावामा
गामबेसीका स्वच्छन्दित
तरङ्गहरु कति खोज्दा होलान् !

पड्किन्छन् बारुदहरु
थर्किन्छन् मुटुहरु चुडिएलाझै गरी
त्यस्तो अवस्थामा
ती कोइलीका मधुर बोली सुन्न
कति आतुर हुन्छन् होलान् ती लाहुरेहरु !

कोलाहल आवाज
ह्दयविदारक चिच्याहटहरु
छरपस्ट लाशहरुबीच
कति कामना गर्छन् होलान् !
कति सम्झन्छन् होलान् !
ती शब्द -
शान्ति ! शान्ति !! शान्ति !!!

मुटु चट्टानझै कठोर पारी
माया, ममता सब बिर्सी
आदेशको पालना गर्न
विवश छन् त्यो समयमा
ती लाहुरेहरु ।
कति भाग्न खोज्छन् होलान्,
कति तड्पिएर रुन खोज्छ होलान्, ती लाहुरेहरु !
तर स्वाभिमानका लागि
बाध्य भएका छन्
ती लडाइका वीर लाहुरेहरु !
ती लडाईका वीर लाहुरेहरु !!

श्रोत: नेपाल एच के