Wednesday, December 24, 2008

लघुकथा

सम्बन्ध
रचना – ठाकुर मान लामा

हजुर बिन्ति छ केही खान पाउँ ..... एक जना जोगी आयो। पैसा माग्ला भनेको त खानेकुरा पो माग्यो, उसले दियो र अफिसतिर लाग्यो। त्यसपछिका दिनहरुमा त्यो जोगी आउन छाडेन। सुरुमा दिनानुदिन आउन थालेको देखेर श्रीकान्तलाई झोक नचलेको होइन तर सधै यसरी आउँदा उसलाई त्यो जोगी आफ्नै घरको सदस्य लाग्न थालिसकेको थियो। एकदिन उ अफिसबाट चाडै घर फर्क्यो। घर पुग्दा त्यो जोगी आराम साथ सोफामा सुतिरहेको थियो। आएको थाहा पाएर होला उ निद्राबाट बिउँझियो र उसलाई नहेरी फटाफट बाहिर निस्क्यो। आक्रोशले श्रीकान्तको वाक्य फुटेको थिएन। जोगी बाटो लाग्यो।
त्यसपछि श्रीकान्तको मनमा नानाथरी शंका उब्ज्यो। कतै तिर उसले उसकी श्रीमती बाक बाक गरिरहेको सुन्यो। अब श्रीकान्तको मनमा धैर्यताको बाँध फुट्यो। गएर उसले श्रीमतीको गालामा चड्कन लगायो। चुल्ठो समातेर भकुर्यो। त्यतिले पनि नपुगेर लछार पछार पार्दै घर बाहिर निकाल्यो।भोलिपल्ट कसैले ढोका ढकढकायो। श्रीकान्तले ढोका खोल्यो। उही जोगी रहेछ। आज जोगी सामान्य कपडामा आएको थियो। जोगीले भन्यो "नमस्कार म इन्स्पेक्टर रवीन। अपराधको अनुसन्धानको शिलसिलामा केही दिन यसरी जोगीको भेषमा बस्न पाइयो। दिदी खै त भिनाजु ?” अचानक श्रीकान्त मुख अँगार झै कालो देखिन थाल्यो।

श्रोत : लघुकथा डट कम

Sunday, December 14, 2008

कविता

मेरा देशका जनता
रचना - ठाकुर मान लामा

सबैले देखे भन्छन्
सबैले कोरे भन्छन्
कापीको सादा पानामा
मेरो देशको रुवाबासी

कसैले देखेनन भन्छन्
त्यसैले कसैले कोरेनन भन्छन्
कापीको सादा पानामा
मेरो देशको हाँसोखुशी

सबैले देखे भन्छन्
सबैले कोरे भन्छन्
मेरो देशको रुवाबासी
सान्त्वना ढाडस कतै छैन
कुरै मात्र बेसी

कसैले देखेनन भन्छन् त्यसैले कसैले कोरेनन भन्छन्
मेरो देशको हाँसोखुशी
आँखामा पट्टि लाई
उज्यालो भन्दा अँध्यारो खोज्न थालेपछि


सबैले देखे भन्छन्
सबैले कोरे भन्छन् सबैले कोरे भन्छन्
मेरो देशको रुवाबासी
यस्तै हुन्छ बिकाशको काम गरौ
भन्दा जहिले नी पछि हटेसी
कसैले देखेनन भन्छन्
त्यसैले कसैले कोरेनन भन्छन्
मेरो देशको हाँसोखुशी हाँसो त्यसै कहाँ पाइन्छ र हसाउँन खुशी पार्न नजानेसी

यस्तै कुरा देख्छन जनता
यस्तै कुरा कोर्छन जनता
यस्तै छन मेरा देशका जनता
यस्तै छन मेरा देशका जनता

श्रोत : नेपाली साहित्यिक मंच / तन्नेरी डट कम

Tuesday, December 2, 2008

कविता

अमर
रचना- ठाकुर मान लामा

साहित्यकार कुनै एकको लागि जन्मदैन
न कसै एकको लागि मर्ने हो
उज्यालो अन्धकार उसका लागि केहि हैन
स्वतन्त्रताको पंख उडाई उ हिड्ने हो

दुख पीड़ा हर्ष खुसी के मात्र बोक्दैन
अरुको तर उ आफ्नै भने बिर्सन्छ
प्रेमका अंकुर छर्न उ हिच्किचाउदैन
त्यसैले त ती अक्षर मोती भई झिल्मिलाउँछ

बग्दछन ती शब्दहरू खोलासरी
अन्तरंग कयैनका त्यहाँ समाई
बोल्द्छन ती सब जगत भरी
नौलो तरंग जही तही जगाई

सानो नै बिशाल आकाश उसका लागी
लिएको छ स्वाभिमान यही गुण हरघडी
न त हट्छ उ न त जान्छ कतै भागी
सोच्दछ केवल उ कसरी सिजिॅउ नव सिर्जना बढ़ी

बलवान कलम लिई हातमा
लेख्न बस्छ कसै संग नडराई
देख्दछ उ प्रकाश शब्दहरुमा
छर्न चाहन्छ त्यसैले त्यों उज्यालो जहितहि

नश्वर शरीर त्याग्नै पर्छ यो सबले बुझेकै हो
तादम्यता के यस संग कसै बाट छिपेको छैन
बिर्सेला जगतले उसलाई यो त रित नै भई गो
हुदैन तर ती अक्षर निमिटयान्न त्यों त अब सदा अमर भो
हुदैन तर ती अक्षर निमिटयान्न त्यों त अब सदा अमर भो










नाम : ठाकुर मान लामा
जन्मस्थान : ओख्रेनी, वार्ड नम्बर २, लाहुरेटोल, रामेछाप
जन्म मिति : असोज ३०
शिक्षा : बी.बी.यस तेस्रो बर्षमा अध्यनरत
रूचि : साहित्य लेखन
प्रकाशित : करीब ५ दर्जन

Sunday, November 23, 2008


कविता

कविता फुल्ने कहिले ?
रचना - ठाकुर मान लामा

मेरो कविता फुल्ने ठाउँ अब कतै देखिन
हावा सरी छरिएको हेर्न पाइन
किन हो किन
त्यत्रो ठुलो बगैचामा
मेरो मात्र कविता फुल्न सकेन

मलजोल गरेकै हो
सुगन्ध भर्ने काम पनि गरेकै हो
तर यो बढ्नै मानेन
किन हो किन
त्यत्रो ठुलो बगैचामा
मेरो मात्र कविता फुल्न सकेन

हाँसो मेरो यसैमा पोखिदिएको थिए
सुख जति यसैमा टाँसिदिएको थिए
रपनि म देखि अलग्गै हुनै चाहेन
किन हो किन
त्यत्रो ठुलो बगैचामा
मेरो मात्र कविता फुल्न सकेन

अरुका कविता फूल भएर
सबको प्यारो हुन थालिसक्यो
तर मेरो कविता अझै कोपिला बनी
अरुसँग कुरा गर्न मान्दै मानेन
किन हो किन
त्यत्रो ठुलो बगैचामा
मेरो मात्र कविता फुल्न सकेन

सानै भएर होला
कसैले यसलाई हेर्न मानेन
चियाउन पनि चाहेन
कसैले यसको दुख बुझन खोजेन
किन हो किन
त्यत्रो ठुलो बगैंचामा
मेरो मात्र कविता फुल्न सकेन

श्रोत : तन्नेरी डट कम

Saturday, November 8, 2008

लघुकथा

भबिष्यवाणी
रचना : ठाकुर मान लामा

रामप्रसाद जन्मदा ज्योतिषीले भबिष्यमा कि त उ धनी हुन्छ कि त उ जोगी हुन्छ भनेर भबिष्यवाणी गरिदिएका रहेका छन् । उ गरीब परिवारमा जन्मेको थियो त्यसैले उसको परिवारले पनि उ भबिष्यमा जोगी नै हुन्छ भनेर अड्कल काटे ।
समय बित्दै गयो । रामप्रसाद पनि हुकर्यो । उमेरको परिपक्वतासँगै उ पनि केही गर्न सक्ने खालको भएको थियो । धनी बिधालयमा पढ्न नपाएपनि साधारण बिधालयमा उसले पढ्न पाएको थियो । त्यसैले उ साक्षर नै थियो । गम्भीर स्वभाव भएको उसको त्यो बानीले साथीभाइहरुसँग त्यति घुलमिल हुन नसके पनि कुनै पनि घटनादेखि उ धेरै संवेदनशील हुन्थ्यो । त्यसैले उसको झुकाव साहित्यतिर गयो ।
रामप्रसादले पनि साना साना फुटकर रचना लेख्यो । र त्यसलाई बिभिन्न पत्रिकाहरुमा छापियोस् भन्ने हेतुले रचनाहरु पठाउन शुरु गरयो । उसका ती रचनाहरु पनि सायद राम्रै भएकोले होला पत्रिकाहरुमा छापिन थाल्यो ।
रामप्रसादले बाहिरी नोकरी पनि शुरु गरयो । उसको गरिबीलाई केही हदसम्म त्यो नोकरीको कमाईले धान्न थालेको थियो । यतातिर जागिर अर्कोतिर साहित्य । त्यतिाजेल सम्म त राम्रै भएको थियो । तर भाग्यको लेखा मेटेर मेटिदैनथ्यो । भाग्यमा जे लेखिन्छ त्यो त हुनैपर्थ्यो र भोग्नैपर्थ्यो । कमाई ठीकठाक चलिरहेको बेला महँगी एक्कासी आकासियो । उसको त्यो कमाईले मंहगीलाई केही लछारपछार पार्न सकेन । अन्तमा केही सीप नलागेपछि उ जोगी बन्ने अवस्थामा पुग्यो । भोलीपल्ट नै उ जोगीको भेष भिरी माग्न हिड्यो । तर बिधीको बिधान…। उ ठगिएछ । जुन दिन उ जोगी भएर हिड्यो त्यही दिन उसको एउटा रचना उत्कृष्टमा दरिएछ र सम्मान र महङगो पुरस्कारले सम्मानित गरिने भएछ …

श्रोत : नेपाली साहित्यिक मंच

Wednesday, November 5, 2008

कविता

साहित्यकार बाँचिरह्यो उसकै साहित्यमा
रचना - ठाकुर मान लामा

लेखक भेटिइरह्यो उसकै लेखमा
कथाकार हाँसिइरह्यो उसकै कथामा
कवि रोइरह्यो उसकै कवितामा
समग्रमा त्यसैले केवल
साहित्यकार बाँचिरह्यो उसकै साहित्यमा

कसैले उसलाई सोधेन
कसैले उसलाई एक लब्ज भनेन
कस्तौ छौ तिमी भनेर
समग्रमा त्यसैले केवल
साहित्यकार बाँचिरह्यो उसकै साहित्यमा

पीड़ा हुदाँ उ एक्लै पिडित हुनुपरयो
हर्ष छाउँदा उ एक्लै हर्षित हुनुपरयो
दुःख सुख पर्दा आफैले ब्योहर्नुपर्यो
समग्रमा त्यसैले केवल
साहित्यकार बाँचिरह्यो उसकै साहित्यमा

बुझ्नेले उसको अक्षर पढिदियो
नबुझ्नेले उसको अक्षर च्यातिदियो
एक अक्षरको नाउँमा अनगिन्ति पुच्छर झुन्डाईदियो
समग्रमा त्यसैले केवल
साहित्यकार बाँचिरह्यो उसकै साहित्यमा

जिबित छउञ्जेल कसैले सरोकार राखेन
मृत्युपछि चाहि के के अलंकार थप्न भने बिर्सेन
देखावटी भएपनि फुस्रो सम्मान दिन छाडेन
समग्रमा त्यसैले केवल
साहित्यकार बाँचिरह्यो उसकै साहित्यमा
समग्रमा त्यसैले केवल
साहित्यकार बाँचिरह्यो उसकै साहित्यमा

श्रोत : नेपाली साहित्यिक मंच

Thursday, October 23, 2008

कविता

आमाको दुखेसो
रचना - ठाकुर मान लामा

आइपुग्यो टुप्लुक्कै आँगनीमा दसैं यो साल पनि
आमा बिचरी हेर्दैछिन् बाटो छोरा आउँछ कि भनी
पोहर साल दसै त्यसै बित्यो दिन गनी गनी
भन्छिन् ती आमा आँसु झार्दै भक्कानो मनमा लिई

अरूका छोरा लाहुरे घन्काउँदै रेडियो घर
आफ्ना पनि आउलान् भनी आँखा कति सोझयाए
अश्रुको धारा बग्यो कति नसोध तिमी मलाई
भन्छिन् ती आमा आँसु झार्दै भक्कानो मनमा लिई

सोध्दछन् बहिनीहरू दाइ कहिले आउँछन् भनी
भनुँ के उनीहरूलाई जवाफ आफैंसँग छैन नि
होला काम गर्दै बिचरा त्यहाँ दिनरात नभनी
भन्छिन् ती आमा आँसु झार्दै भक्कानो मनमा लिई

के खाँदो होला के लाउँदो होला पीर मनमा कति छ
देख्दा रमाई हाँसेका सन्तान अरूका मुटु चसक्क घोच्दछ
सम्झना गाउँ-बेसी घरको खुब गर्दो होला नि
भन्छिन् ती आमा आँसु झार्दै भक्कानो मनमा लिई

आउँछु पत्रमा चाँडै नमान्न पीर ऊ आफंै भन्दछ
कसरी बुझाउनु मनलाई यहाँ आफूलाई कस्तो हुन्छ
दुःखीको कर्म दुःख गरेर जीवन बित्दोरहेछ नि
भन्छिन् ती आमा आँसु झार्दै भक्कानो मनमा लिई ।

श्रोत : घटना र बिचार

Saturday, August 23, 2008

कविता

नयाँ नेपालमा कुर्सीको खेल

रचना- ठाकुर मान लामा

नयाँ नेपाल बनाउने कुरा खाली कुरा नै होला जस्तो छ

नयाँ नेपाल अब पनि अक्षरमै सिमित होला जस्तो छ

नयाँ नेपालको नारा नेताको भाषण दिने पारा होला जस्तो छ

किनभने

नयाँ नेपालमा पनि कुर्सीको खेल नै बढी होला जस्तो छ

नयाँ नेपाल बिशाल नेपाल इतिहासबाट बाहिर नहोला जस्तो छ

नयाँ नेपाल समृद्ध नेपाल सपनामै सिमित होला जस्तो छ

नयाँ नेपालमा सुन्दर नेपाल बनाउने केवल कल्पना नै होला जस्तो छ

किनभने

नयाँ नेपालमा पनि कुर्सीको खेल नै बढि होला जस्तो छ

नयाँ नेपाल भित्ता भित्ता र होर्डिङ बोडमै झुन्डेर बस्ला जस्तो छ

नयाँ नेपालमा खै कहिले रोजगारीको सिर्जना प्राप्त होला जस्तो छ

नयाँ नेपालमा निशुल्क पढ्न पाउने धोको धोका होला जस्तो छ

किनभने

नयाँ नेपालमा पनि कुर्सीको खेल नै बढी होला जस्तो छ

नयाँ नेपाल एउटा जागरुक नेपाल कथनै होला जस्तो छ

नयाँ नेपालमा एकता भन्ने कुरा फेरी टाढै होला जस्तो छ

नयाँ नेपालमा भेदभावको अन्त्य हुने आशा आशै होला जस्तो छ

किनभने

नयाँ नेपालमा पनि कुर्सीको खेल नै बढी होला जस्तो छ

नयाँ नेपाल नया होइन पुरानै होला जस्तो छ

नयाँ नेपालमा किरण नयाँ छाया पुरानै होला जस्तो छ

नयाँ नेपालमा सत्ता नयाँ व्यहवार पुरानै होला जस्तो छ

किनभने

नयाँ नेपालमा पनि कुर्सीको खेल नै बढि होला जस्तो छ

श्रोत : ई पत्र डट कम

कविता

समयलाई बुझ्न नसक्दा
रचना - ठाकुर मान लामा

पैसाको सिरानी पैसाकै बिछ्यौना
माथि सुत्ने बानी
उफ
कहानिर गल्ती गर्न पुगेछु
अहिले यो सानो मंदिरको
सांघुरो दलानमा खुम्चिएर
सानै कटोरा सामुन्ने राखी
पैसाको जोहो गर्दैछु

पहिले त हुने खाने नै थिए
सबैले मलाई चिन्दथे
चिन्ने त चिन्ने नै भए
नचिन्ने जो कोही पनि
नमस्कार गर्दै नजिक हुदै आए
अहो कस्तो मेरो भाग्य
आज त्यही चिन्ने पनि नचिन्ने पनि
मेरो अगाडी शानसित हिड्दै थिए

ए तलाई माग्न लाज लाग्दैन
ए त काम गरेर खान सक्दैन
बिभिन्न बाणहरु धनुष रूपी मुख बाट
यसरी नै छाडदैछन
मानौ म उनीहरुको नजरमा
एक कुख्यात अपराधी नै थिए
त्यही भएर
मेघ जस्तै आँखा बनाई
क्रोधित भई हिड़दैछन

काम गर्न किन नसक्नु
लाजले त्यसो गर्न सकिन
काम माग्न जाउ अरु कँहा
हातमा तर सिप छैन
चोर्नु मनले दिएन
त्यसैले माग्नु नै उत्तम बिकल्प
बाहेक अरु मैले केही देखिन

हो दोष मेरै थियो
समयलाई पहिचान गर्न नसक्नु
समय संग हिडन नसक्नु
के गर्नु
आज यही बोराको कम्बलमा
लेट्नु बाहेक
उनीहरुलाई गाली गर्न सक्दिन
उनिहरुमाथि क्रोधित हुन सक्दिन

श्रोत : ई पत्र डट कम

कविता

बैशका फुलहरु

रचना - ठाकुर मान लामा

कति छिचिल्लिएका

कति जिस्किएका

कति पातिएका

यौवनका उन्मादमा

यी बैशका फुलहरु

आफैलाई भुलिरहेका

हावाका सुस्केरासँगै

अनियन्त्रित झुलिरहेका

अतृप्त चाहनामा डुब्दै

यी बैशका फुलहरु

चञ्चलताले छोपिएका

बिना सहारा यी भावना

बिना कसैको परवाह लिई

बेफ्वाँक उड्दै झुम्न थालेछ

यी बैशका फुलहरु

छिनछिनमा खिलखिलाउने

बानी परेछ लजाउने

सही नै त्यही सपना नै

रमाउन सिकेछन् यी बैशका फुलहरू

श्रोत : ई पत्र डट कम

Monday, June 30, 2008

कविता

संबिधान नेपाली जनताको लागि
रचना - ठाकुर मान लामा

रटायौ भट्यायौ सुरुदेखि संबिधानसभाको नारा
पुरा भयो खोजेको देखाइदेउ दुनियालाई अब सारा
जनजाति दलित कमैया पहाडी मधेसि तराई हेर्दैछ
बनाउ नयाँ नेपाल जनता सुख शान्तिको आश गदैछ

गर निर्माण त्यस्तो कानुन ठुला-साना सबलाई लाग्नेगरी
अनि हुन्छ तब मात्र देशमा असल शाषन वरीपरी
कोही धनी धनी नबनोस् कोही गरीव गरीव नरहोस्
खाडल यो बिभेदताको सदाको निम्ति अब पुरीदेओस्

नहेपुन कतै कोही पनि उसको जात र कामले
बाटो सुन्दर बनाइदेउ जीउस् उ पनि शानले
नभौतारिउन् कोही यहाँ वहाँ न्याय पाउनका लािग
बन्छ असल नागरीक तब सदैव यसरी

माग्न भिख बाँच्नको निमित्त कोहीसँग नपरोस्
दिन शीर झुकाउने आत्मग्लानिलॆ फेरी नआओस्
नचर्कियोस अब घाउ सुनौलो बिहानी फिर्नेछ
आशा प्रकट मनमा यही शान्ति सदैव छाउनेछ

कामभन्दा कुरा ठुलो नहोस् कहिल्यै नी
जुन जोगी आए कानै चिरेका उखान नहोस् अब नी
फर्की नआओस् द्वन्द फेरी यही सबको चाहना
बनोस् त्यस्तो संबिधान नफेरीयुन् सदा सदा

श्रोत : संगालो डट बी

Friday, June 13, 2008

कविता

जागरण
रचना - ठाकुर मान लामा

उठाउ हातहरु
चलाउ पाइलाहरु
देशमा आमुल परिवर्तनका लागि
घन्काउ आवाजहरु
स्वतन्त्रताका नाराहरु

जगाउ मनहरु
बसाउ जगहरु
देशका ती प्रत्येक गरा गरामा
फैलाउ शान्तिहरु
गरी राम्रा कर्महरु

पहिल्याउ तरङ्गहरु
उब्जाउ तरङ्गहरु
देशको अखण्डताको निमित्त
गराउ पहिचानहरु
इतिहासका बीरहरु

बगाउ सीप र सिर्जनाहरु
पोखाउ पसिनाहरु
देशको यो मलिलो माटोमा
पलाउँ अन्नहरु
धरती लहलहाउ अझै अरु

देखाउ ममताहरु
हसाँउ जनताहरु
देशको समबृदिका लागि
भराउ बिकासहरु
गर उन्नतिहरु

हटाउ दासत्वहरु
बढाउ मित्रतापनहरु
दॆशमा एकता कायम राख्न
बिर्सिउ द्वेश रागहरु
भेदभाव तथा पराईपनहरु

श्रोत : संगालो डॉट बी

कविता

संघर्ष गर यही
रचना - ठाकुर मान लामा

ए बाबु
अब तिमीले कतै जानु पर्दैन रे
तिम्रो सपना फुल्नलाई
अन्तै कतै भुमि खोज्नु पर्दैन रे

ए बाबु
अब तिमी आफ्नो सीप
यही माटोमा छर्न सक्छौ रे
परिश्रमको एक एक पसिना
मोतीका रुपमा भर्न सक्छौ रे

ए बाबु
नेपालमा सुनौलो किरणसाथ
नौलो बिहानी उदाइसकेको छ
हेर त हिमाल पिन
चन्द्रमा ´ै मुसुक्क मुस्कुराएको छ

ए बाबु
बु¢को यस पावन भुमिमा
शान्तिको लहर छाइसकेको छ
जागरण आत्मियता सानिध्यता
नेपालका हरेक बर्गले जगाईसकेको छ

ए बाबु
नेपालमा कालो रात
अब कहिल्यै ब्युि´दैन रे
स्वतन्त्रता अखण्डताका निमित्त
यहाँ कोही कोहीसँग ´ुक्दैन रे

ए बाबु
तिमी सुन्दै त छौ नी मेरो कुरा
छाडिदेउ पराई भुमिमा जाने बारे
एक हात तिमी उठाउ
कयैन हातहरु तिमीसँग मिल्न तयार छ रे

ए बाबु
नयाँ नेपाल बनाउन
तिम्रो साथ चाहिन्छ रे
सङ्घर्ष गर यही
नेपाल आमा त्यही हेर्न चाहन्छिन् रे

श्रोत : संगालो डॉट बी

Sunday, April 27, 2008

कविता

मनमा माया सम्मान
रचना- ठाकुर मान लामा

मनमा माया, सम्मान जागृत गराउने होभने
दरिला हाथमा पौरखी हात जुटाउने होभने
निश्चय नै धरातल यो स्वर्ग बन्ने छ
जसरी माटोले पानीको स्पर्श पाउँदा
बाला धानका लहराउँने गर्दछ ।

थुप्रिएर रहेका मैला मनका फ्याँकिदिने होभने
विभेदताका कालो पहाड उखेलिदिने होभने
निश्चय नै मनमा शान्ति वहने छ
जसरी आँखाहरु सङ्लो पानीमा पर्दा
एक किसिमको शीतलता हृदयमा बस्दछ ।

ऐश आराम वैभवको मोह त्यागिदिने होभनर्ेर्
इस्या रीसराग द्वेश सदा हटाइदिने होभने
निश्चय नै सुख खुशी आफै आउनेछजसरी यसको लतबाट मुक्त हुँदा
जो कोही त्यसलाई महात्मा भन्न कहाँ
चुक्दछ ?

घमण्डता अहङ्कारता निर्मुल गर्ने होभने
कु-बिचार अत्याचार सब छोडिदिने होभने
निश्चय नै सत्य विजय बोकी हिँड्ने छ
जसरी गगनका ती बादल हट्दा
सूर्य आफ्ना किरण धरतीमा छर्न सक्दछ ।

श्रोत : नेपाल एच के

Tuesday, April 1, 2008

कविता

महान नेता
रचना - ठाकुर मान लामा

पल्टाए अखबारका पानाहरु
कतै मेरो नाम छापिएको छ कि भनेर
तर कतै पाउदिन म
हुनु पर्ने हो
हिजो मात्र त्यत्रो
घाटी सुक्ने गरी भाषण गरेको
भाषण पछि आफ्नालाई रासन देुको
खै त त्यसको बारेमा
त्यति मात्र हो र
जुलुसमा पछि पछि हिडेको
नमान्दा पुलिसको लठ्ठी खाएको
टाउको भरी टाँका लाउनु परेको
खै त्यसको बारेमा
त्यति मात्र हो र
घाइते भनी नेता भेट्न आएको
अवस्था देखि दुःख प्रकट गरेको
भत्स्रना बक्तव्य निकाल्छु भनेको
खै त त्यसको बारेमा
त्यति मात्र हो र
बाहिरी नेता बाट समेत फोन आएको
मेरा हाल अवस्था बारे जानकारी लिएको
अनि के के कुन्नि समर्थन र बिरोध जनाएको
खै त त्यसको बारेमा
म त जनताको सेवक
उनीहरुको सेवाको लागि के के गरीन र
कसको चाकरी गरीन र
मेरा जनताहरु गरीब छैनन् भनेर
देखाउन भए पनि पजेरो कहाँ चढिन र
उनीहरुले नै माया गरी दिएको कर कमिसन
बाट ठुल ठुला महल ठड्याउने काम किन गरीन र
बिजुली बत्ती ल्याउन
कसलाई खोला नदी बेचिन र
तर खै किन
आज त्यस्तो हुदा पनि
एक अक्षर पनि कतै पाउदिन

श्रोत : संगालो डॉट बी

Thursday, March 13, 2008

कविता

सबलाई ब्युँझाइदिनु
रचना - ठाकुर मान लामा

आवाज मेरो तिमीसम्म पुग्छ भने
तिमीले यो आवाज अरूसामु पुर्‍याइदिनु
स्वतन्त्रता र शान्तिका लागि लड्न
सुतिरहेका ती सबलाई ब्युँझाइदिनु

आवाज मेरो तिमीसम्म पुग्छ भने
तिमीले यो आवाज अरूसामु पुर्‍याइदिनु
पिल्सिएका ती जनताका लागि सेवा गर्न
हृदयभरि जोश भर्न सबलाई भनिदिनु

आवाज मेरो तिमीसम्म पुग्छ भने
तिमीले यो आवाज अरूसामु पुर्‍याइदिनु
समानताको यो अधिकारका लागि जुध्न
सामुका चट्टान फोड्न सबलाई हौस्याइदिनु

आवाज मेरो तिमीसम्म पुग्छ भने
तिमीले यो आवाज अरूसामु पुर्‍याइदिनु
निरङ्कुशताविरुद्घका लागि विचलित नहुन
सुमार्गको त्यो पथमा सबलाई हिँडाइदिनु

आवाज मेरो तिमीसम्म पुग्छ भने
तिमीले यो आवाज अरूसामु पुर्‍याइदिनु
एकता र अखण्डताका लागि सीमा कोर्न
सङ्गठित हातको महत्त्व सबलाई बुझाइदिनु

आवाज मेरो तिमीसम्म पुग्छ भने
तिमीले यो आवाज अरूसामु पुर्‍याइदिनु
देश र मातृभूमिको विकासमा लागि पर्न
धरती माताको टीका सबलाई लगाइदिनु

श्रोत : घटना र बिचार / ई पत्र डट कम

Tuesday, March 11, 2008

कविता

आँशु झारी रोएछन्
रचना - ठाकुर मान लामा

आज भन्दै भोली भन्दै
सबै हिजोको इतिहास भैसकेछन्
र सम्झिदा जति मिठो लागे पनि
वास्तवमा तिता नै रहेछन्
किनभने मेरा लािग
गर्नु पर्ने काम धेरै अधुरा बसेछन्
र जुन सिद्धिसकेका थिए
ती पनि कसरी हो अपुरा भएछन्
त्यही कारणले गर्दा
सबले मलाई धिक्कार्न थालेछन्
कतिलॆ हो कतिले त
नानाथरी बक्दै गाली गरेछन्
हिजोको म नायक
आज खलनायकमा दरीदिएछन्
पहिले मलाई भलाद्मी ठान्नेहरु
उनीहरुका लागि म अभद्र ठहरीएछन्
अब त यसले सक्दैन
यस्तै कुरा मनमा राखीसकेछन्
अलि सानोतिनो गरेको राम्रो कामको
वास्ता पनि गर्नै छाडीदिएछन्
मेरो यस्तो अवस्था देखेर
म प्रति कुनियत राख्नेहरु हाँसेछन्
केवल खाली केवल
मेरा आफ्ना मात्र आँशु झारी रोएछन्

श्रोत : तरुण पत्रिका

Thursday, March 6, 2008

कविता

आखिर किन ?
रचना :ठाकुर मान लामा

सम्पूर्ण दोष मलाई थोप्छौ
आखिर किन ?
तिम्रो आँगनको
सिमामा टेके भनेर ?
तर म मेरो शरीर
तिमीबाट जति टाढा भएपनि
मैलै बनाएका ती बस्तु त
तिम्रै घरभित्र बाहिर
छ नी होइन र ?

मन्दिर गुम्वा आदिमा
मैले पाइला टेक्दा
मलाई कुट्छौ
आखिर किन ?
के अपवित्र हुन्छ भनेर ?
जबकी मैले बनाएका
यी मन्दिर गुम्वा नै पवित्र हुन्छ भने
म स्वयं पनि पवित्र
ठहरीएनी होइन र ?

अनुहार मेरो
तिम्रो सामु पर्नै नहुने रे
आखिर किन ?
काम ब्रि्रन्छ रे ?
जबकी मैले होस् या
तिमीले या अन्य जो कोही
जसले पनि अनुहारले होइन
यी हात खुट्टाले गर्नु पर्ने होइन र ?

मेरो स्पर्शमा
तिमी कुजात हुन्छौ रे
आखिर किन ?
के तल्लो ओहदामा
गनिन्छौ भन्ने डरले ?
हामी दुबैजना
मानिस मानिस भएपछि
यस्तो तल्लो सोच राख्छौ भने
त्यस्तै भाव राख्छौ भने
त्यसै तिमी
तल्लो ओहदामा दर्‍यौ नी होइन र ?

आखिर किन
तिमी भेदभावको दृष्टिले हेर्र्छौ
तिमी सकुंचित भावना राख्छौ
माया प्रेमलाई द्वेश र रीषले छोपी
यी अधरबाट आगो निकाल्छौ
मनुष्यत्वको सम्वन्धलाई
किन उच निचको पर्खाल राखी
बिगार्न चाहन्छौ
आखिर किन ?

श्रोत : तन्नेरी डॉट कॉम

Sunday, February 24, 2008

गीत

सागर सधै उही हुन्न

रचना - ठाकुर मान लामा

सागर सधै उही हुन्न पिएर तिर्खा मेट्नलाई

बाटो सधै उही हुन्न टेकेर नलडी हिड्नलाई

सधै नै उस्तै हुन्न जीवन कहिले उकाली ओराली

सुख दुख आउछ सधै हो घाम छाया जीन्दगानी

अमृत सबले कहाँ पाउँछर बिष पिएर बाचेको छ

शिखरमा पुग्नलाई हुन्छ नि कहिले चाडो कहिले अबेर

फुल सधै उही हुन्न काँडाले नघोचि टिप्नलाई

बाटो सधै उही हुन्न……।

भावीको लेखा कर्मको रेखा बद्लेर बद्लिन्न

नियम बिधाताको तोडेर कहिल्यै जान्न सकिन्न

आशा भरोसा लिई जीवनलाई डोर् याउनु छ

नौलो किरण सारा छरी जीवन बाच्नु छ

जुन सधै उही हुन्न बादल नहटी चम्कनलाई

बाटो सधै उही हुन्न……॥

सागर सधै उही हुन्न ……।

बाटो सधै उही हुन्न……।

श्रोत : ई पत्र डट कम

Saturday, February 23, 2008

कविता

दाग
रचना- ठाकुर मान लामा

आमा !
हेर तिम्रै सन्तानले
तिम्रो अस्तित्वमाथि दाग देखाए
म माथि बिभिन्न अलङकार थपेर
मलाई अछुत भने कसैले
कसैले कुजात भने
मैले बनाएका बस्तु छुनेले
मलाई चाहि अपबित्र भने
तिमी आफै भन आमा
कसरी म अछुत हुन पुगे
कसरी म कुजात हुन पुगे
कसरी म अपबित्र हुन पुगे
जबकी तिमीले नै मलाई
यस धरतीमा जन्म दिएकी थियौ
यसको काखमा हुर्काएकी थियौ
तर खै कसरी किन
म माथि यसरी अलङ्कार थपी
तिम्रो अस्तित्वमािथ
अछुत कुजात र अपबित्र जस्ता
दागका भिल्लाहरु ओड्याउन
खोज्दैछन्
भन्नेहरु भन्छन् जहिले पनि
यहाँ केवल छन् दुइटा जाती
एउटा नर अर्को नारी
तब म कसरी कुजातमा दरीन पुगे
सबैको जस्तो मेरो पनि
शरीरमा हाड छाला मुटु हुनुका साथै
नशामा राता रगत नै बगिरहेको छ
तब म कसरी छुनै नहुने अछुत हुन पुगे
स्वच्छ मनले बनाएको यो मन्दिर
जसरी पबित्रताको प्रतिमुर्ति बनेको छ
अहिले त्यहाँ मेरो उपस्थिित
किन अपवित्रताको चिन्ह बन्न पुगे
हे आमा !
तिमी त पवित्रताको देवी हौ
तिमी त ममताको खानी हौ
तर
मेरो नाउँमा
यहाँ जानी जानी
तिम्रो अस्तित्वमाथि दाग पोत्दैछन्
तिम्रो अस्तित्वमाथि दाग पोत्दैछन्

श्रोत : ईपत्र डट कम

Thursday, February 7, 2008

कविता

कुनाको मान्छे
रचना - ठाकुर मान लामा

गाउँमा बस्दा
म कुनाको मान्छे भए
अथवा
सहरमा रहँदा
म कुनाको मान्छे भए
आजसम्म अहिलेसम्म
आफैंलाई थाहा छैन

गाउँमा बस्दा
सबैले सहर पनि नघुमेको
गाउँमै कोचिरहने
कस्तो कुनाको मान्छे भने
सहरमा रहँदा
केही पनि नजान्ने
केही पनि नबुझने
कस्तो कुनाको मान्छे भने

गाउँको निश्चल माया
सहरमा भित्र्याउने प्रयास गर्दा
छीः गर्दै घीनमान्दै
कस्तो कुनाको मान्छे भने
सहरको त्यो विकासलाई
गाउँमा डोर्‍याउन खोज्दा
धत् खुब जान्ने भइछस् भन्दै
कस्तो कुनाको मान्छे भने

गाउँमा एकको जुठो खाँदा
सबले गाली गर्दै
नानाभाँती भन्दै
कस्तो कुनाको मान्छे भने
सहरमा कोही नजिक आउन खोज्दा
ठूलठूला आँखा तर्दै
परपर हट्दै
कस्तो कुनाको मान्छे भने

गाउँमा बसुँ भने कुनाको मान्छे
सहरमा रहुँ त पनि कुनाको मान्छे
आखिर म किन
कसका लागि कुनाको मान्छे भए
कसका लागि कुनाको मान्छे

श्रोत : घटना र बिचार / नेपाल एचके

Thursday, January 31, 2008

कविता

स्वतंत्रता
रचना : ठाकुर मान लामा

यी हातहरूमा जन्जिर नबाँधिएको भए
त्यो चन्द्रमालाई छुन्थें हुँला
पाउमा फलामका ढिस्का नजकडिएको भए
सारा ब्रह्माण्ड घुम्थें हुँला

मुखमा कसिलो पट्टी नकसिदिएको भए
स्वतन्त्रताका आवाज बुलन्द गर्थें हुँला
अँध्यारो यी कोठामा नकोचिदिएको भए
क्षितिज नै झलमल्ल पार्ने प्रकाश र्छर्थें हुँला

हक र अधिकारबाट बन्चित नगरिदिएको भए
जागरणका किताबहरू लेख्थें हुँला
हेयको यो नजर सबमा नराखिदिएको भए
दिनदुःखी गरिबमाथि दृष्टि राख्थें हुँला

पहाडरूपी सोचाइ मनमा नबसिदिएको भए
माया स्नेह प्रेमका खिताब चढाउँथें हुँला
समानतालाई विभेदको भण्डारले नछोपिदिएको भए
हातमा हात काँधमा काँध मिलाई हिँड्थे हुँला

श्रोत : घटना र बिचार / नेपाल एच के

Sunday, January 20, 2008


कविता

समय क्रान्तिको
रचना - ठाकुर मान लामा

जंजीरले बाधिएका मेरा यी हातहरु
त्यसले नै एकदिन लोहाको काम गर्नेछ
पट्टीले कसिएका यी मेरा मुखहरु
स्वयं खुली बुलन्द आवाज छर्नेछ

भवन यी फलामै फलामको भएपिन
यसैबाट मेरो नयाँ जन्म हुनेछ
बिताएका एक दिन एक पल पल
अदम्य साहस शरीरमा भर्नेछ

सहिएका यी लामा लामा मोटा लौराहरु
आगोको चिङ्गार बनि निक्लनेछ
तड्पाई मेरा भोगाई उपरान्त
एक क्रान्तियुगको चिनारी कहलिनेछ

व्यतित मेरा जीवन यी कालकोठरीमा
चिर्दै अँध्यारो जगमगायन प्रकाश दिनेछ
प्रवेशद्वारको बाहिरी मेरो दुनियामा हेर
एकदिन सुनौलो बिहानी आउनेछ

श्रोत : संगालो डट बी

Saturday, January 5, 2008

कविता

होइननी अभागी
रचना - ठाकुर मान लामा

मेरो पनि कुरा सुन म त होइननी अभागी
रगत सबको रातै हुन्छ नभन यो जाती उ जाती

रंगिबिरंगी फुल भए पनि आख़िर फुल हो नि
साना ठूला तारा भए पनि आख़िर तारा नै त हो नि
कोही हून्नन साना ठूला सब सामान जाती
रगत सबको रातै हुन्छ नभन यो जाती उ जाती

दुख्छ घाऊ सबलाई यहाँ जहा चोट लागे नि
पीर सबलाई उस्तै हुन्छ ब्यथा बढेपछि
समय चक्र हुन्छ उही सधै दिन राती
रगत सबको रातै हुन्छ नभन यो जाती उ जाती

मनैॅ पर्छ सबले एकदिन यो संसार छाडी
बाच्न देऊ मलाई खुशी साथ हासी हासी
अमर छैन जींदगी यो जानैपर्छ सबले एकचोटी
रगत सबको रातै हुन्छ नभन यो जाती उ जाती

मेरो पनि कुरा सुन म त होइननी अभागी
रगत सबको राती हुन्छ नभन यो जाती उ जाती

श्रोत : नेपाली साहित्यिक मंच

Thursday, January 3, 2008

कविता

शहीदको मौन भाषा
रचना - ठाकुर मान लामा

हेर तिमी आकाशमा
ताराहरूलाई
शायद तिमीलाई नै
हेरिरहेका छन् कि
तिमीलाई गिज्याइरहेका छन् कि
यस देशलाई हाँक्छु भन्ने
तिम्रो घमण्ड र तिम्रो चरित्र हेरी
तिमीलाई जिस्क्याइरहेका छन् कि
सुम्पेर तिमीलाई नै
यो देशको जिम्मा
आफूले दिएको बलिदान
व्यर्थै गएछ भनी सोच्दै छन् कि
कस्तो थियो मुलुक यो
कस्तो पारिदियौ
भनी रोइरहेका छन् कि
देशको छवि बिगार्ने तिमीलाई
मनमनै दुत्कारिरहेका छन् कि
हत्या, हिंसा, अशान्ति मात्र
तिम्रो शासनमा देखी
मुटु दुखाई चिच्याइरहेका छन् कि
तिम्रो हरेक क्रियाकलापको
समीक्षा गरी
तिमीलाई धिक्कारिरहेका छन् कि
त्यसैले बदली आफूलाई
बुझ उनीहरूको
मौन भाषा

श्रोत : घटना र बिचार / नेपाल एचके

Wednesday, January 2, 2008

गीत

नव बर्षको शुभकामना
रचना - ठाकुर मान लामा

पुर्णिमाको जुनजस्तै फुलिरहुन फुलहरु
माफ गरीदिनु है मलाई बिर्सिदिनु भुलहरु
नवबर्षको शुभकामना
भेटस्वरुप तिमीलाई यी गीतहरु

भोलीको कुरा हेर कस्लाई थाहा छ र
जीवन बाँच्नु छ आजै मरी लानु के छ र
नखोतल्नु है तिमीले बितेका पलहरु
नवबर्षको शुभकामना
भेटस्वरुप तिमीलाई यी गीतहरु

घामको किरणसरी यश तिम्रो फैलिरहोस्
हर सगर सागरमा प्रेम तिम्रो छाइरहोस्
नगर्नु है तिमीले कुनै शङ्काहरु
नवबर्षको शुभकामना
भेटस्वरुप तिमीलाई यी गीतहरु

पुर्णिमाको जुनजस्तै ……
नवबर्षको शुभकामना………

श्रोत : संगालो डट बी